गठबन्धनकै निर्णयअनुसार उपराष्ट्रपतिमा उम्मेदवारी दिएका हौं : सीके राउत

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले गठबन्धनकै निर्णयअनुसार आफ्नो पार्टीले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेको बताएका छन्।

शनिबार जनमत पार्टीको तर्फबाट उपराष्ट्रपति पदका लागि ममता झाले उम्मेदवारी दर्ता गरेसँगै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष राउतले गठबन्धनकै निर्णयअनुसार जनमत पार्टीको उम्मेदवारी दर्ता गराएको बताएका हुन्।

उनले गठबन्धनभित्र उपराष्ट्रपतिका लागि ३ जनाको उम्मेदवारी दर्ता गर्ने र साझा उम्मेदवार बनाउनका लागि छलफल जारी राख्ने कुरा भएको जानकारी दिए। उनले गठबन्धनभित्र आफ्नो पार्टीकै उम्मेदवारलाई साझा उम्मेदवार बनाउने निर्णय हुने विश्वास व्यक्त गरे। आफ्नो पार्टीको उम्मेदवारलाई गठबन्धनको साझा उम्मेदवार नबनाए पनि आफूहरूले उम्मेदवारी फिर्ता नलिने उनले बताए।

जनमत पार्टीको तर्फबाट उपराष्ट्रपतिकी उम्मेदवार ममता झाले संविधानलाई जीवित राख्नका लागि आफूले उम्मेदवारी दिएको बताइन्। उनले सबै जातजातिको राज्यको निकायमा प्रतिनिधित्व हुनुपर्ने संविधानको मर्म रहेको उल्लेख गर्दै आफू मधेसको महिला हुनुले पनि उम्मेदवारी दिएको बताइन्। उनले आफू संविधानलाई सशक्त रूपमा पालना गर्नुपर्छ भन्नेमा स्पष्ट रहेको बताइन्।

उनले आफूलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन पार्टीले गरेको निर्णयबाट आफू एक इन्च पनि तलमाथि नहुने स्पष्ट पारिन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *