राष्ट्रपति निर्वाचन-२०७९

मेरो तर्फबाट साथ, सहयोग र समर्थन रहन्छ : सुवास नेम्वाङ

राष्ट्रपति पदका प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति निर्वाचनको परिणामलाई हार्दिकतापूर्वक स्वीकार गरेको बताएका छन् ।

राष्ट्रपतिको आज भएको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएपछि रासससँग कुराकानी गर्दै उनले लोकतन्त्रमा विश्वास गर्नेले प्रतिस्पर्धामा विश्वास गर्नुपर्ने धारणा व्यक्त गरे ।

पूर्वसभामुख नेम्वाङले भने, ‘घोषणा भएको निर्वाचन परिणामलाई पनि मैले त्यसै रूपमा लिएको छु । राष्ट्रपतिजस्तो सम्मानित पदमा मेरा मित्र पौडेलजी निर्वाचित हुनुभएको छ, कार्यकाल सफलताका लागि मेरो बधाई र शुभकामना छ ।’

जनताले जनताका लागि संविधानसभाबाट संविधान बनाएपछि राष्ट्रपतिको महत्त्वपूर्ण निर्वाचनको चरणबाट गुज्रिएको उल्लेख गर्दै उनले भने, ‘यो निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । मलाई धेरै नै खुसी लागेको छ । यसलाई लोकतन्त्रको महत्त्वपूर्ण कडीका रूपमा म सम्झन्छु ।’

जनताले हाम्रै परिवारको व्यक्ति राष्ट्रपति भएको छ भन्ने अनुभूति गर्न पाउनुपर्छ भन्नेमा जोड दिँदै संविधानसभाका उपाध्यक्ष नेम्वाङले संविधान र कानूनबमोजिम राष्ट्रपतिको भूमिका सफलतापूर्वक सम्हाल्न सुझाव दिए । उनले भने, ‘मेरो तर्फबाट मित्र रामचन्द्रजीलाई पूरै साथ, सहयोग र समर्थन रहने छ भन्ने विश्वास दिलाउन चाहन्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *