संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद् सचिवालयमा दर्ता
सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद् सचिवालयमा दर्ता गरेको छ ।
सरकारले बिहीबार ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ लाई संघीय संसद् सचिवालयमा दर्ता गरेको हो ।
न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले सरकारले सो विधेयक संसद् सचिवालयमा बिहीबार(आज) दर्ता गरेको जानकारी दिए । उनले सो विधेयक संक्रमणकालिन न्यायलाई व्यवस्थापन गर्नका लागि बनेको स्पष्ट पारे । । मन्त्रिपरिषद्को आजैको बैठकले विधेयकलाई संसद्मा दर्ता गर्ने निर्णय गरेको थियो । सहायक प्रवक्ता धमलाले विधेयक दर्ता भएको दुई दिनभित्रमा प्रतिनिधि सभाका सबै सदस्यहरुलाई वितरण हुने जानकारी गराए । उनले विधेयक दर्ता भएको पाँच दिनपछि बस्ने जुनकुनै संसद् बैठकमा पेस हुने उल्लेख गरे ।
सचिवालयमा दर्ता भएको विधेयक संसदमा अगाडि बढाउने विषय राजनीतिक विषय भएको उल्लेख गर्दै उनले सभामुखले राजनीतिक दलहरुसँग छलफल गरी आगामी दिनमा प्रतिनिधि सभाको बैठकमा पेस हुने बताए ।
प्रतिक्रिया