राष्ट्रपति निर्वाचन-२०७९

शालीन, त्यागी र अनुभवी नेतालाई राष्ट्रप्रमुखको बागडोर

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको तेस्रो राष्ट्रपतिका रूपमा निर्वाचित भएका छन् । बिहीबार संघीय संसद्मा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् ।

पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले मतदान गरे ।

अर्का उम्मेदवार एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार पाए । उनले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाए ।

संघीय संसद् र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८३१ जनाले मतदान गरेका थिए ।

संघीय संसद्का ३३४ जना सदस्यमध्ये राप्रपाका १४, नेपाल मजदुर किसान पार्टीका १ जनाले मतदानमा सहभागिता जनाएनन् । नेपाली कांग्रेसका चन्द्र भण्डारी, नेकपा माओवादी केन्द्रका वर्षमान पुन उपचारका क्रममा मुलुकबाहिर रहेकाले मतदानमा सहभागी भएनन् ।

कांग्रेसबाट निर्वाचित भई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका टेकबहादुर गुरुङ निलम्बित अवस्थामा रहेकाले मतदान गर्न पाएनन् । मतदाता नामावलीमा नाम भए पनि फौजदारी मुद्दाका अभियुक्त एमालेका लक्ष्मी महतो कोइरीले पनि राष्ट्रपति निर्वाचनमा मतदान गर्न आएनन् ।

प्रदेशसभाका ५५० सदस्यमध्ये ५१८ जनाले मात्र मतदान गरे । राप्रपाका २८, नेपाल मजदुर किसान पार्टीका ३ र जसपाका एक सांसदले मत दिएनन् ।

राष्ट्रपति निर्वाचनमा सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

शालीन, त्यागी र अनुभवी नेतालाई राष्ट्रप्रमुखको बागडोर

राष्ट्रपतिमा निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेलको जन्म आमा ॠषिमाया र बुवा दुर्गाप्रसाद पौडेलबाट विसं २००१ असोज २९ गते तनहुँको साविक मिर्लुङ बाहुनपोखरामा भएको हो । उनका श्रीमती सविता पौडेल र चार छोरी (शर्मिला, संज्ञा, अनुज्ञा, अवज्ञा), एक छोरा (चिन्तन) छन् ।

मध्यमवर्गीय किसान परिवारमा जन्मेका पौडेलको स्थायी बसोबास व्यास–८ बेलथुम्की तनहुँ हो भने हालको ठेगाना काठमाडौँ–१६ बोहोराटार बालाजु हो । उनले शास्त्री (संस्कृत साहित्य, २०२४), स्नातकोत्तर (नेपाली साहित्य २०२७) शिक्षा लिएका छन् ।

विसं २०१६ मा पोखरामा हिमालयन छात्र सङ्घ स्थापना गरेका पौडेल पोखरा विन्ध्यवासिनी पाठशालामा अध्ययन गर्दै गर्दा विसं २०१७ जेठ–असारमा नेपाल संस्कृत छात्र सङ्घको काठमाडौँ अधिवेशनमा प्रतिनिधि भएका थिए । विसं २०१७ पुस १ गते जननिर्वाचित संसद् भङ्ग गरीे प्रधानमन्त्री बीपी कोइरालालगायत नेतालाई जेलमा राखिएको विरोध गर्दै उहाँ प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएका थिए ।

नन्दीरात्रि माविबाट एसएलसी परीक्षा उत्तीर्ण गरेका उनले नन्दीरात्रि मावि विद्यार्थी सङ्घको संस्थापक अध्यक्ष, रानीपोखरी मावि विद्यार्थी सङ्घको अध्यक्ष, जुद्धोदय हाइस्कुलमा विभिन्न २२ विद्यालयका विद्यार्थीको भेला गराई स्वतन्त्र विद्यार्थी युनियनको माग गर्दै त्यससम्बन्धी आन्दोलनको नेतृत्व गरेका थिए ।

उनी विसं २०१९ मा नेपाल संस्कृत विद्यार्थी सङ्घको सचिवको हैसियतमा २०१९–२०२० सालमा उपत्यका आन्दोलनमा र २०२०–२०२१ सालमा राष्ट्रव्यापी स्वतन्त्र विद्यार्थी आन्दोलनमा गिरफ्तार भएका थिए ।

कांग्रेस तनहुँको सदस्य (२०३४) र जिल्ला उपसभापति (२०३६)को जिम्मेवारी सम्हालेका नेता पौडेल जनमत सङ्ग्रहको सिलसिलामा बहुदलीय व्यवस्थाको प्रचार–प्रसार गर्न गठित कांग्रेस तनहुँ समितिको संयोजक २०३७, कांगे्रस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख २०४० र विसं २०४३ मा कांगेस केन्द्रीय सदस्य भएका थिए ।

कांगेस केन्द्रीय महामन्त्री (२०६२–२०६४), कांगेस केन्द्रीय उपसभापति (२०६४–२०७२), कांग्रेस संसदीय दलको नेता (२०६४–२०७०) हुनुभएका पौडेल २०७२ सालमा कांगे्रसको केन्द्रीय कार्यवाहक सभापति भएका थिए ।

भरतपुर कब्जा गर्ने कांग्रेसको सशस्त्र सङ्घर्षमा संलग्न भएको आरोपमा विसं २०१८ मा काठमाडौँबाट गिरफ्तार भई पहिलोपटक करिब एक महिना हिरासत सजाय भोग्नुभएका पौडेल विद्यार्थी आन्दोलनका क्रममा गिरफ्तार हुनुका साथै त्यसपछिका विभिन्न राजनीतिक आन्दोलनका क्रममा राजनीतिक जीवनमा २०१८ देखि २०६२ सम्म १४ वर्षभन्दा बढी जेल जीवन व्यतित गरका थिए ।

उनी२०४८ सालमा तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए भने त्यसपछि तनहुँ क्षेत्र नं २ बाट २०५१, २०५६, २०६४, २०७० मा लगातार प्रतिनिधिसभा निर्वाचन र संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए । गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी तनहुँ क्षेत्र नं १ बाट निर्वाचित भएका हुन् ।

निर्वाचनपछि पहिलोपटक २०४८ सालमा स्थानीय विकासमन्त्री, विसं २०४९ मा कृषिमन्त्री भएका उनी २०५१ पुस २ गते प्रतिनिधिसभाको सभामुख निर्वाचित भएका थिए । पौडेल २०५६ साल र त्यसपछि उपप्रधान तथा सूचना/सञ्चार मन्त्री, स्थानीय विकासमन्त्री, उपप्रधान तथा गृहमन्त्री हुनुका साथै शान्ति समितिको संयोजक (२०६१–२०६२), शान्ति तथा पुनःनिर्माणमन्त्री (२०६३–२०६४), कांग्रेस संसदीय दलको नेता तथा संसद्मा प्रमुख प्रतिपक्षी दलको नेता (२०६४–२०७०) को जिम्मेवारी सम्हालेका थिए ।

पौडेलले मानव अधिकारसम्बन्धी विभिन्न पुरस्कार, महेन्द्रविक्रम शाह पुरस्कार (महेन्द्रविक्रम शाह नेपाल प्रजातन्त्र कांग्रेसका संस्थापक हुन्), जापान सरकारले प्रदान गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’को सम्मान–सन् २०२०) लगायत सम्मान तथा पुरस्कार प्राप्त गरिसकेका छन् ।

उनका नेपाली कांग्रेसको सङ्क्षिप्त इतिहास, प्रजातान्त्रिक समाजवाद एक अध्ययन २०४७, नेपाली कांग्रेस र नेपालको आधुनिकीकरण, नेपाली कांग्रेस के भन्छ ?, आस्थाको यात्रा (राजनीतिक विश्लेषण) २०५५, नेपाली कांग्रेस अबको बाटो प्रजातान्त्रिक समाजवाद २०७५, कृषिक्रान्ति र समाजवाद, राजनीतिको राजमार्ग २०७९, नेपाली कांग्रेस रूपान्तरणको मार्गचित्र, नयाँ सन्दर्भमा समाजवाद, अभिशप्त इतिहास (माघ १९ को काण्डपछि)लगायत दर्जनौँ पुस्तक तथा विभिन्न विषयमा पत्रपत्रिका तथा अनलाइनमा समसामयिक लेख रचना प्रकाशित छन् ।

विसं २०२५ मा बीपी कोइराला सुन्दरीजल जेलबाट रिहा भएपछि तत्कालीन विद्यार्थी नेता रामचन्द्र पौडेललाई भेट्न सेन्ट्रल जेल गई अविचलित नहुन आग्रह गर्दै प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्न प्रेरणा दिएका त्यहाँ बीपीसँग पौडेलको पहिलो भेट भएको थियो । त्यसबेला बीपीले पौडेलसँगै जेलमा रहनुभएका कम्युनिष्ट नेताहरू मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ र कमल कोइरालालाई पनि भेटेका थिए ।

राजनीतिक जीवनमा विसं २०१८ देखि २०६२ सम्म १४ वर्षभन्दा बढी जेल जीवन व्यतित गरेका उनी समाजवादी चिन्तक र प्रयोगकर्ता तथा स्वच्छ छवि, सादा जीवन, उच्च विचारका प्रयोगधर्मी हुनुका साथै स्पष्ट वक्ता र प्रजातान्त्रिक समाजवादका व्याख्याताको विशेष पहिचान बनाएका छन् ।

कांग्रेसभित्र समन्वयकारी, मध्यमार्गी नेताका रूपमा परिचित उनले पार्टीका तत्कालीन सभापति बीपी कोइराला, पार्टीका सर्वमान्य नेता गणेशमान सिंह, पार्टीका संस्थापक कृष्णप्रसाद भट्टराई र पछि सभापति गिरिजाप्रसाद कोइराला र सिंह तथा भट्टराईबीचको विवाद तथा मनमुटाव मिलाउन सधँै मध्यमार्गी र समन्वयकारी भूमिका निर्वाह गरेका थिए ।

यसैगरी सशस्त्र द्वन्द्वरत तत्कालीन माओवादीलाई मूलप्रवाहको राजनीतिमा ल्याउने ऐतिहासिक वार्ता र सहमतिका काममा अग्रणी भूमिका निर्वाह गरेका उनी विस्तृत शान्ति सम्झौताका मस्यौदाकार तथा सहमति र सहकार्यका पक्षपातीसमेत हुन् ।

पौडेलले नेपालका सबै जिल्ला तथा भारत, चीन, संयुक्त राज्य अमेरिका, जर्मनी, संयुक्त अधिराज्य, स्पेन, बेल्जियम, इटली, फ्रान्स, रोमानिया, नेदरल्याण्डस्, स्वीजरल्याण्ड, पोर्चुगल, टर्की, रसिया, इजिप्ट, इजरायल, माल्दिभ्स, दक्षिण कोरिया, जापान, थाइल्याण्ड, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायत देशको भ्रमण गरेका छन् ।

पौडेल व्यक्तित्वका हिसाबले शालीन र नेपाली राजनीतिमा त्यागी र अनुभवी नेताका रूपमा समेत चिनिन्छन् । लामो राजनीतिक अनुभव संगालेका पौडेल नेपाली कांग्रेस पार्टीको नेतृत्व, मुलुकको प्रधानमन्त्री बन्ने कैयन् प्रयासमा असफल हुँदै आएका थिए । राजनीतिक जीवनको उत्तरार्द्धतिर राष्ट्रपति चुनिएसँगै पौडेलको ‘नेतृत्व चाहना’ पूरा भएको छ ।

के हुन्छ राष्ट्रपतिकाे कार्यभार ?

संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । नेपालमा विसं २०६२/६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर