
कार्यकर्तालाई ओलीको निर्देशन- सरकारले विषादी खुवाएर जनता मार्न खोज्यो, विरोधमा उत्रिनुस्

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकलाई विदेशीहरूको खेल मैदान बनाउन खोजिरहेको आरोप लगाएका छन्।
मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्वीकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहालले चीनविरुद्ध गद्दारी गरेको र मुलुकलाई विदेशीहरूको खेल मैदान बनाउन चाहेको अध्यक्ष ओलीको भनाइ छ।
स्थानीय तह कर्मचारी संघ, नेपालले शनिबार एमाले पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले त्यहाँ रहेको युरेनियमलाई ध्यान दिएर विश्वविद्यालय खोल्ने भनिएको र त्यो मुलुकका लागि नै अति खतरनाक भएको दाबीसमेत गरे। अध्यक्ष ओलीले मान्छे नै नभएको ठाउँमा विश्वविद्यालय बनाउने कुरा गरेर सरकारले लाज नै पचाएको बताए।
उनले भारतलाई खुशी पार्न प्रधानमन्त्री दाहालले त्यहाँबाट आउने तरकारीहरूको चेकजाँच गर्नु नपर्ने आदेश दिएको भन्दै आपत्ति जनाए। नेपालीहरू मारेर भए पनि विदेशीहरूलाई खुशी पार्ने काममा सरकार लागि परेको अध्यक्ष ओलीको भनाइ थियो। उनले विषादी खुवाएर नेपालीलाई मार्ने काम सरकारले गर्न खोजेको उल्लेख गर्दै त्यसको विरोधमा उत्रन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।
अध्यक्ष ओलीले कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनको कुनै गन्तव्य नभएको बताए। उनले स्ववियु निर्वाचनमा अनेरास्ववियुलाई विजयी गराउने काममा जुटन् पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे। अनेरास्ववियुले मुलुकको राजनीतिक परिवर्तनमा ठूलो योगदान गरेकाले स्ववियु निर्वाचनमा सोही संगठनलाई जिताउन लाग्नुपर्ने उनले बताए।
प्रतिक्रिया