रोजगारीको प्रलोभनमा साथीलाई युगाण्डाबाट काठमाडौं बोलाई यौनधन्दामा लगाउने महिला पक्राउ

नेपालमा आकर्षक रोजगारीको प्रलोभन देखाएर अफ्रिकी मुलुक युगाण्डामा रहेकी आफ्नी साथीलाई काठमाडौंमा बोलाई यौनधन्दामा लगाएको आरोपमा युगाण्डाकै अर्की महिला पक्राउ परेकी छन्।

मानव बेचबिखन अनुसन्धान ब्यूरोले यौनधन्दामा लगाएको आरोपमा नताशा भनिने एमाकुलेट नाबासुम्बालाई पक्राउ गरेकाे हाे।

ब्यूराेका प्रवक्ता एवं एसपी कृष्णप्रसाद पंगेनीका अनुसार उनले एक जना युगाण्डाकी महिलालाई पर्यटक भिसामा नेपाल बोलाएर यौनधन्दामा संलग्न गराएको देखिएको छ। नेपालमा क्लिनर, वेट्रेस लगायतको काम गर्दा ५०० अमेरिकी डलर कमाइ हुने, हवाई टिकट, भिसा लगायतको खर्चसमेत कमाएर तिर्न सक्ने भनेर उनले प्रलोभन देखाएकी थिइन्।

एसपी पंगेनीका अनुसार पीडित महिला र पीडक युगाण्डामा पुरानै चिनजानका हुन्। ‘नजिककै साथीलाई नेपाल बोलाउन सजिलो हुने भएर उनलाई बोलाइएको देखिन्छ,’ एसपी पंगेनीले पर्दाफाससँग भने।

प्रहरीका अनुसार नताशको प्रलोभनमा परी पीडित महिला गत जनवरी २८ मा नेपाल आइपुगेकी थिइन्। नताशा भने २०२२ डिसेम्बर ८ मै आएर ठमेलस्थित होटल जर्नी होम प्रालिमा बस्दै आएकी हुन्।

नेपाल बोलाएर उनले पीडितलाई आफू बस्दै गरेको होटलमा ल्याएर नेपाली तथा भारतीय मूलका व्यक्तिसँग शारीरिक सम्पर्क राख्न बाध्य पारेको देखिएको एसपी पंगेनीले बताए। उक्त काम नगरे परिवारलाई नै मार्ने धम्कीसमेत उनले दिने गरेको खुलेको छ।

दिनकै ५-७ जनासँग शारिरिक सम्पर्क गर्न लगाउने गरेको आरोप उनीमाथि छ। यौन व्यवसायमा लगाएपछि एक हप्तापछि पीडित बिरामी परेकी थिइन्।

बिरामी परेपछि उनी होटलबाट निस्केर युगान्डा फर्किन भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि पुगेकी थिइन्। तर, नताशाले उनको हवाई टिकटसमेत रद्द गरिदिएको पाइएको छ।

टिकट रद्द गरेपछि पीडित महिला मानव बेचबिखन अनुसन्धान ब्यूरोको सम्पर्कमा आएकी थिइन्। पीडित महिलाले जाहेरी दिएकै दिन फागुन १५ गते प्रहरीले नताशालाई पक्राउ गरेको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट आरोपी महिला आफैं पनि यौन व्यवसायमा संलग्न रहेको खुलेको छ। यस्तै ग्राहकको व्यवस्था पनि आफैंले गर्दै आएको देखिएको छ। ग्राहक सम्पर्कमा नआएका बेला ठमेलका विभिन्न नाइट क्लबबाट ग्राहक खोजी गर्ने गरेको पाइएको एसपी पंगेनीले बताए।

पीडितलाई यौन व्यवसायमा लगाएर पाउने गरेको रकम उनी आफैंले लिने गरेको पनि अनुसन्धानबाट देखिएको छ। उनले प्रतिव्यक्ति ४ देखि ५ हजार रुपैयाँसम्म लिने गरेको प्रहरीले जनाएको छ।

नताशाले अन्य महिलालाई पनि यसरी यौन व्यसायमा लगाएको हुनसक्ने प्रहरीको आशंका छ। ‘अरू महिलाहरूलाई पनि त्यस्तो काममा लगाएको हुनसक्ने देखिएको छ। तर, उनीहरू सम्पर्कमा आएका छैनन्। थप अनुसन्धान गरिरहेका छौं,’ एसपी पंगेनीले भने।

यस कार्यमा नेपालीहरूको समेत संलग्नता छ/छैन भन्ने विषयमा समेत अनुसन्धान भइरहेको उनले बताए।

‘यो घटना अलि नयाँ र फरक प्रकृतिको देखिएको छ। यसमा हामी गम्भीरतापूर्वक अनुसन्धान गरिरहेका छौं,’ एसपी पंगेनीले भने।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *