काठमाडौंमा नक्कली सवारी लाइसेन्स बिक्री गर्ने गिरोह सक्रिय

काठमाडौंमा नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बिक्री गर्ने गिरोह सक्रिय रहेको पाइएको छ । ट्राफिक प्रहरीको चेकिङमा परेका एक जना सवारी चालकको अनुमतिपत्र शंकास्पद देखिएपछि अनुसन्धान गर्दा यस्तो तथ्य खुलेको हो ।

रोल्पाको त्रिवेणी गाउँपालिका–७ घर भई ललितपुर बस्ने २८ वर्षीय प्रकाश घर्तीमगरको लाइसेन्स शंकास्पद देखिएपछि यातायात व्यवस्था कार्यालयमा बुझ्दा उनको लाइसेन्स नक्कली भएको खुलेको थियो ।

उनले बोकेको लाइसेन्समा ‘ए’ वर्ग अर्थात मोटरसाइकल स्कूटर र मोपेड, बी वर्ग अर्थात कार, जीप र डेलिभरी भ्यान, एफ वर्ग मिनीबस र मिनीट्रक, जी वर्ग ट्रक, बस र लरी चलाउन मिल्ने भनेर ए, बी, एफ र जी लेखिएको थियो ।

तर, यातायात व्यवस्था विभागको तथ्यांकमा भने बी वर्गको अर्थात कार, जीप र डेलिभरी भ्यान मात्रै चलाउन मिल्ने अनुमतिको लाइसेन्स भएको देखिएपछि उनको लाइसेन्स नक्कली भएको खुलेको हो । ट्राफिक प्रहरीले उनलाई नियन्त्रणमा राखेर अनुसन्धान गर्ने निकाय काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय नयाँ बानेश्वरमा बुझाएको थियो ।

अपराध अनुसन्धान कार्यालयको प्रारम्भिक अनुसन्धानमा उनले आफ्नो लाइसेन्समा नयाँ अनुमति थप्नका लागि ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयमा जाँदा एक जना दलालले थपिदिएको बयान दिएका छन् ।

निरौला थरका एक जना व्यक्ति आफूले बनाइदिने भन्दै घर्तीमगरको सम्पर्कमा आएको तर उनी को हुन् भन्ने पहिचान नभएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले बताए ।

एसपी राठोरका अनुसार घर्तीमगर एकान्तकुना जाँदा ती व्यक्तिले ३० हजारमा अन्य सवारीको अनुमति थपिदिने डील गरेका थिए । त्यसैअनुसार बनाउनुभन्दा अगाडि ती दलाललाई १५ हजार रुपैयाँ अग्रिम दिएका थिए । लाइसेन्स ४ दिनपछि बनेर आएको थियो । त्यसपछि उनले अर्को १५ हजार रुपैयाँ दिएको देखिएको राठौरले बताए ।

प्रहरीले उनलाई नक्कली लाइसेन्स उपलब्ध गराउन यातायात व्यवस्था विभागका कर्मचारीको संलग्नता छ कि भनेर अनुसन्धान गर्दा पनि त्यस्तो देखिएको थिएन । बरु उनको लाइसेन्स यसभन्दा अगाडि पक्राउ परेका राजन तामाङहरूको गिरोहले बनाउँदै आएको लाइसेन्ससँग मिलेको देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले फागुन ३ गते नक्कली लाइसेन्स बनाउने गिरोहका मुख्य नाइके नुवाकोट लिखु गाउँपालिका– ४ का ३६ वर्षीय राजन तामाङ, कास्कीको पोखरा महानगरपालिका– १ की ३४ वर्षीया कञ्चन गुरुङ र लिखु गाउँपालिकाकै ३८ वर्षीय अनिललाई पक्राउ गरेर सार्वजनिक गरेको थियो ।

यो गिरोहले प्रतिलाइसेन्स ३० हजारमा बिक्री गर्दै आएको प्रहरीको बयानमा खुलाएको थियो । प्रहरीको अनुसन्धानमा उनीहरूले भारतको पटनाबाट ३५ रुपैयाँ भारुमा प्रिन्ट गरेर काठमाडौं ल्याई ३० हजार रुपैयाँमा बिक्री गर्दै आएको खुलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *