पृथ्वी शाह र उनको समूहमाथि चारवटा मुद्दा लगाउनुपर्ने सीआईबीको सुझाव

ठगीको आरोपमा जेल चलान भएका पृथ्वीबहादुर शाह र उनको समूहमा रहेका १९ जना व्यक्तिविरुद्ध चारवटा मुद्दा चलाउनुपर्ने भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शाह, उनका भाइ विजयविक्रम शाहसहितका समूहलाई व्यक्तिविरुद्ध ठगी, लिखतसम्बन्धी कसुर, सहकारी ठगी र संगठित अपराधविरुद्ध मुद्दा चलाउनुपर्ने अनुसन्धानबाट खुलेको जानकारी गराएको हो ।

अमेरिकी नागरिकहरू ठगिएको उजुरी नेपालस्थित अमेरिकी राजदूतावासले नै जानकारी गराएपछि पृथ्वीबहादुर शाहसहितका ७ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थलेको थियो । अनुसन्धानमा उनीहरूले ठगीबाट आर्जन गरेको सम्पत्ति घर, जग्गालगायतको कारोबारमा लगानी गरेको पनि खुलेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए ।

सो घटनामा संलग्न पृथ्वीसहित ७ जना पक्राउ परेका छन् भने अन्य १३ जना फरार रहेका छन् । घटनामा संलग्न सबैलाई पीडितलाई क्षतिपूर्ति दिलाई ७ वर्ष कैद र ७० हजार जरिवाना हुने कानूनी व्यवस्था रहेको पनि प्रवक्ता थापाले बताए । उनले उनीहरूमाथि सहकारी ऐनअनुसार छुट्टै दण्डसजाय पनि हुन सक्ने कानूनी यवस्था रहेको बताए ।

उनीहरूले ठगीबाट आर्जन गरेको रकम ३८ करोड, ८६ लाख ६२ हजार १३६ रुपैयाँ रहेको खुलेको छ । उनीहरूविरुद्ध हालसम्म २४ जना पीडितले नेपालस्थित अमेरिकी दूतावासमार्फत् उजुरी दिएका छन् । केही क्यानाडियन र बेलायती नागरिकहरू पनि उनीहरूबाट पीडित भएको खुलेको र अनुसन्धानको कामलाई सुरु गरिएको पनि प्रहरीले जनाएको छ ।

उनीहरूले अमेरिकी नागरिकसँग अमेजनको बिल भुक्तानी, एन्टिभाइरस अपडेटलगायतका विभिन्न निहुँमा सो रकम ठगी गर्ने गरेका थिए । ठगीमा पर्नेहरूमा प्रायः वृद्धवृद्धा रहेको पनि प्रवक्ता थापाले बताए।

शाहको समूहले ठगी गरी नेपाल ल्याएको रकम मध्ये १ करोड २८ लाख ९३ हजार ८५ रुपैयाँ बैंकहरूले रोक्का गरिदिएको पनि सीआईबीको अनुसन्धानमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *