सुदूरपश्चिमका मुख्यमन्त्री शाहले फागुन २१ गते विश्वासको मत लिने

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी थालेका छन्।

मुख्यमन्त्री शाह यही फागुन २१ गतेभित्र प्रदेश सभामा विश्वासको मत लिने तयारीमा रहेको उनको सचिवालयले जनाएको छ। विश्वासको मतका लागि उनले पछिल्ला दिनमा दलका शीर्ष नेतृत्वदेखि सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्तिसँग भेटघाट एवं छलफललाई तीव्रता दिएका छन्।

मुख्यमन्त्री शाह केही दिनअघि काठमाडौं आएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरी फर्किएका छन्। ‘विश्वासको मत लिनका लागि सभामुखसँग मुख्यमन्त्री शाहले आवश्यक परामर्श गरिरहेका छन्। प्रदेश सभामा एमालेबाहेकका दलसँगको छलफललाई समेत तीव्रता दिनुभएको छ,’ मुख्यमन्त्रीका स्वकीय सचिव धीरेन्द्र शाहीले भने।

संविधानको धारा १६८ (३) बमोजिम गत माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले यही फागुन २६ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने हुन्छ। प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता शाह एकीकृत समाजवादीका गरी २३ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनलाई विश्वासको मत पाउन २७ सदस्यको समर्थन आवश्यक पर्छ। त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९, एमालेका १०, माओवादी केन्द्रका (सभामुखसहित) ११, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार तथा राप्रपा र स्वतन्त्र गरी एक एक सदस्य छन्।

पछिल्लो पटक केन्द्रमा फेरिएको समीकरणसँगै मुख्यमन्त्री शाह प्रदेश सभामा विश्वासको मत पाउनेमा ढुक्क रहेको उनका स्वकीय सचिव शाहीको दाबी छ। गत मंसिर ४ गते सम्पन्न चुनावलगत्तै मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले तोकिएको समयभित्र प्रदेश सभामा विश्वासको मत पाउन असफल भएपछि पदबाट राजीनामा दिएका थिए।

एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाका गरी बहुमत सदस्यको समर्थनमा एमालेका रावल मुख्यमन्त्री नियुक्त भएका थिए। नागरिक उन्मुक्तिले विश्वासको मत दिन नमानेपछि रावल पदमुक्त भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *