प्रचण्ड राजनीति अस्थिरमात्र होइन, धमिलो बनाउँदै छन्
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अस्थिरताको चर्चा फेरि एकपटक चुलिएको छ । पहिलो पटक प्रधानमन्त्री बन्दा उनको निशानामा ‘नेपाली सेना’ थियो । त्यसपछिका घटनाक्रममा उनले न्यायालय, प्रशासन, सुरक्षा निकाय, सार्वजनिक सरोकारका मन्त्रालय, नागरिक सेवा जस्ता विषयमा नजानिँदो शैलीमा खेल्दै गए । यसपटक उनी निकै सजग बनेका छन् ।
यतिबेला उनले जनमतप्राप्त राजनीतिक दललाई पाखा लगाएर दुई महिना ‘जन–म्यान्डेट’ ले प्रतिपक्ष बस्नुपर्ने आफू र एमाले सम्मिलित सरकार चलाए । अहिले उनी कार्यकारी पद लिएर नेपाली कांग्रेसलाई सहयोगी बनाइरहेका छन् । यसअघि एमालेसँगको उनको सहकार्य औपचारिक रुपमा केही समयअघि टुङ्गिएको छ ।
यसअघि नेकपा बनाएर एमालेसँग उनले सहकार्य गरेका थिए । यो घटनाक्रममा उनी पर्दा पछाडि थिए । अनुहार ओलीको थियो । यो अवधिमा उनले आफ्ना सानाठूला सबै काम फत्ते गरे । यही अवधिमा परिवार र नातागोताको ‘कल्याण’ गरे । आफ्नो र परिवारको समेत आर्थिक उद्धार गरेको चर्चा भइरहन्छ ।
प्रचण्डको राजनीतिक आस्था र विश्वास कार्यकारी राष्ट्रपति र सोलोडोलो गणतन्त्रमा छ । यो उनले अध्यक्षता गरेको पार्टी र उनकै राजनीतिक प्रतिवेदनले स्वीकार गर्दछ । तर, प्रचण्ड संसदीय व्यवस्थामा अभ्यस्त भइसके भन्नका लागि उनी सत्ता र शक्तिका वरिपरि रहनु, दौरा सुरुवाल लगाउनु तथा कहिले कांग्रेस र कहिले एमालेमा रहेर खेलिरहनु बाहेक केही छैन ।
उनी किंगमेर हुनकै लागि यसो गरिरहेका छन् । वा उनी सधैं सत्तामा रहन चाहन्छन् ? के प्रचण्ड अभिलाषा यत्तिमै सीमित छ ? किन उनको पार्टीमा विद्रोहको स्वर सुनिँदैन । प्रचण्ड अन्तर्राष्ट्रिय शक्ति रिझाउने काममा व्यस्त छन् ?
उनले प्रधानमन्त्री भएपछि संक्रमणकालिन न्याय निरुपणको प्रक्रियामै रहेको कथित ‘जनयुद्ध’ लाई बिदाका बहानामा स्थापित गरे । उनी तत्कालीन विद्रोहीहरुलाई शहिद घोषणा गर्न खोजिरहेका छन् । उनी शान्ति प्रक्रियामा आएदेखि नै आफ्नो शक्तिशाली र कार्यकारी राष्ट्रपतिसहित सोलोडोलो गणतन्त्रकै वरिपरि घुमिरहेका छन् ।
उनको नेतृत्वमा भएको १० वर्ष सशस्त्र बिद्रोहलाई स्थापित राजनीतिक नेतृत्वले ‘बिग्रिएको क्रान्तिकारी’ का रुपमा बुझ्नु, बुझपचाउनु र बुझेजस्तो गरिरहनुकाबीच कतै प्रचण्ड खेलिरहेका त छैनन् ।
अब, प्रचण्डले जीवन राजनीति समर्पित प्रचण्ड पथ र त्यसको कार्यदिशासँग पछिल्ला घटनाक्रम मिसाएर हेर्ने समय आएको छ । राजनीतिक दलहरुले प्रचण्डसँग सहकार्य गर्दा उनको ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ रणनीतिक वाणीको समेत विवेचना गर्ने बेला भएको छ ।
सत्ताको दाउपेचले फेरि एकपटक नेपाली राजनीति अस्थिरताको भूमरीमा फसेको छ । र, यसको केन्द्रमा छन् प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
दुई महिनाअघि कांग्रेससँगको भागबण्डा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेसहितको दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । उनले प्रधानमन्त्री बन्नकै लागि एमालेलाई राष्ट्रपति र सभामुख दिने सम्झौता गरे । केन्द्रदेखि प्रदेशसम्मको भागबण्डा मिलाए ।
तर, दुई महिनामै प्रचण्ड ‘यू टर्न’ भए । कांग्रेससहितको आठ दलीय गठबन्धन बनाए । राष्ट्रपति कांग्रेसलाई दिने सहमति गरे । ५ वर्षे सत्तायात्रामा माओवादी, कांग्रेस र नेकपा एसबीच आलोपालो नेतृत्व गर्ने सहमति भएको छ, जुन सार्वजनिक हुन भने बाँकी छ ।
प्रचण्डको यो कदमको अहिले आलोचना भइरहेको छ । उनले अस्थिर चरित्र देखाएको र समग्र नेपाली राजनीतिलाई पनि अन्योलको चौबाटोमा ल्याएर खडा गरेको आरोप लागेको छ । तर, प्रचण्डलाई पहिलेदेखि चिन्नेहरु भने उनको यो चरित्रलाई नौलो मान्दैनन् । उनको हालसम्मको राजनीतिक करियरअनुसार हरेक पटक यस्तै अस्थिरतामा खेल्दै प्रचण्ड आफूलाई शक्तिशाली बनाउन सफल भइरहेको विश्लेषकहरुको बुझाइ छ ।
त्यसो भए आखिर के चाहन्छन् त प्रचण्ड ? देशलाई अस्थिर राजनीतिको चक्रव्यूहमा पारेर उनले के लाभ लिन खोजेका हुन् त ? यसको सरल उत्तर छ, पहिलो त सत्ता र शक्ति नै हो । यी दुवैका लागि हालका प्रमुख दलका नेतृत्वहरु पनि जुनसुकै जालझेल गर्न पछि पर्दैनन् । त्यसबाट प्रचण्ड पनि अछूतो छैन । सत्ताका लागि आवश्यक परे नैतिकता, इमानदारी र संवैधानिक मूल्यमान्यतालाई पनि तिलाञ्जली दिन उद्यत छन् ।
त्यसबाहेक आफ्नो रक्तपातपूर्ण विगतलाई जायज थियो भन्ने मानक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा गराउने प्रयत्नमा उनी छन् । यसका लागि राजनीति मात्र होइन, कूटनीतिमा पनि अनावश्यक हस्तक्षेप गर्न उनी कत्ति पनि हिच्किचाउँदैनन् भन्ने पछिल्लो उदाहरण परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रद्द गर्नुले पुष्टि हुन्छ ।
राजनीतिक करियर
२०२८ मा नेकपाको पुष्पलाल समूहबाट पार्टीको सदस्यता प्राप्त गरेर आफ्नो राजनीतिक जीवन प्रारम्भ गरेका दाहालले रामबहादुर थापा ‘बादल’, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलसँग मिलेर २०३१ सालमा माक्र्सवादी अध्ययन समूह गठन गरेका थिए ।
उनी २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित भएका थिए । उनी २०३८ मा क्षेत्रीय ब्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महासचिव भई २०४० मा संघको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका थिए ।
२०४१ मा नेकपा (मशाल)को पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित, २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकता केन्द्र)को महामन्त्री भए । यसैगरी २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछि बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री भएका प्रचण्डले २०५२ सालदेखि सुरु भएको सशस्त्र युद्धको नेतृत्व गरे । २०५७ मा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष भए ।
२०५८ मा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर रहेका दाहाल २०६३ साल असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी काठमाडौँमा भूमिगत जीवनबाट सार्वजनिक भएका थिए ।
गणतन्त्र स्थापनामा योगदान, तर अस्थिर राजनीतिको कारक
माओवादी सशस्त्र द्वन्द्धको क्रममा जनमानसमा उत्सुकता र त्रासको पात्र बनेका प्रचण्ड शान्ति प्रक्रियामा आएपछि हालसम्म सत्ताको वरिपरि छन् । सरकार गठन र विघटनामा उनी सधैं निर्णायक बन्दै आएका छन् । जसरी राजतन्त्र अन्त्य र गणतन्त्र तथा लोकतन्त्रमा स्थापनामा उनको योगदान मानिन्छ, त्यसैगरी करिब दुई दशकयताको अस्थिर राजनीतिको कारकमा पनि कुनै न कुनै रुपमा प्रचण्ड संलग्न देखिन्छन् ।
त्यसको सुरुवात २०६५ सालदेखि भएको थियो, जतिखेर उनी पहिलोपटक प्रधानमन्त्री भएका थिए । जनआन्दोलनमार्फत राजतन्त्र अन्त्य भएको त थियो नै, प्रचण्डले आफू प्रधानमन्त्री भएपछि नेपाल सेनामा हस्तक्षेप गर्ने प्रयत्न गरे, जसको कारण उनले प्रधानमन्त्री पद नै गुमाउनुप¥यो । तत्कालीन प्रधानसेनापति रुक्मांगद कटुवाललाई असमयमै हटाउन खोज्ने उनको प्रहार प्रचण्डमाथि नै बज्रियो ।
त्यतिबेला पशुपतिको पुजारी नियुक्तिको प्रकरणमा सरकारको हस्तक्षेप पनि असफल भयो । धार्मिक क्षेत्रमा अनावश्यक चासो दिँदा यसले प्रचण्डलाई ‘ब्याकफायर’ भयो । तर, राजनीतिमा दाउपेचको श्रृंखलालाई प्रचण्डले कायम नै राखे । जसका कारण माओवादी कहिले कांग्रेस र कहिले एमालेसँग मिलेर सत्ताको लाभ लिन सफल भइरह्यो ।
तीन पटक प्रधानमन्त्री, ३३ वर्षदेखि पार्टी अध्यक्ष
हालसम्म गरेर प्रचण्ड तीनपटक प्रधानमन्त्री भएका छन् । तर, अर्को आश्चर्यलाग्दो कुरा, उनी ३३ वर्षदेखि आफ्नो पार्टीको अध्यक्ष छन् । यस्तो अवसर नेपाली राजनीतमा कमै नेताले मात्र पाएका छन् ।
२०६५ मा पहिलो पटक प्रधानमन्त्री भएका उनी २०७३ साउनमा नेपाली कांग्रेसको समर्थनमा पुनः प्रधानमन्त्री भएका थिए । उनी २०७४ जेठ २३ गतेसम्म कार्यकारी प्रमुखका रूपमा थिए । गत पुस उनी फेरि प्रधानमन्त्री भएका हुन् ।
द्वन्द्वकालमा आफ्नै पार्टीका अन्य शीर्ष नेताहरुको विवादमा खेलेर आफूलाई अध्यक्ष बनाइरहन सफल भएका प्रचण्ड अहिले फेरि राजनीतिक लाभका लागि कांग्रेस र एमालेबीचको प्रतिस्पर्धामा खेलिरहेका छन् । राजनीतिक अस्थिरताको जिम्मेवार भए पनि उनी त्यसबाट भने बच्दै आएका छन् ।
यसअघि ओलीसँगको सहकार्यमा नेकपा बनाएका प्रचण्ड आलोपालो नेतृत्वको सहमति पालना नभएको भन्दै पार्टी विभाजनमा उत्रिएका थिए । त्यतिबेला सरकारमा सँगै रहेका उनी ओम्नी, यतीलगायत विभिन्न काण्डमा भने चोखो बने । ओलीलाई सहमति पालना नगरेको भन्दै लाञ्छना लगाउन सफल भएका उनी भने ‘पानीमाथिको ओभानो’ रहिरहे ।
कम्युनिस्ट पार्टीका नेता भए पनि पुँजीवादी व्यक्तिहरुसँगको साँठगाँठ र लाभ लिएको आरोप सधैं खेपिरहने प्रचण्ड अहिले राजनीतिदेखि कूटनीतिलाई गिजोलेका कारण आलोचनाका पात्र बनेका छन् । विगतमा हिंसात्मक गतिविधिका कारण अन्तर्राष्ट्रिय छवि बिग्रिएका उनी कहिले जनयुद्ध दिवसमा राष्ट्रिय रुपमा बिदा दिएर त कहिले आफूअनुकूलका व्यक्ति अन्तर्राष्ट्रिय सभा सम्मेलनमा पठाएर आफूमाथिको विगतको दाग मेट्ने प्रयासमा छन् ।
माओवादी र प्रधानमन्त्री प्रचण्डको यही प्रवृत्तिका कारण यो पार्टीले पछिल्लो समय जनमत गुमाउँदै गएको छ । तर, उसको यो खेलमा सत्तामुखी नेतृत्वका कारण कांग्रेस र एमाले पनि फस्दै आएका छन् । यही कारण यतिबेला जनमानसमा स्थापित दल र त्यसका नेताप्रति वितृष्णा र वैकल्पिक राजनीतिप्रति मोह बढिरहेको छ ।
कता–कता प्रचण्ड र उनको दलले फेरि पुरानै लोकप्रियता पाउन थालेको छ । त्यो यतिबेला सहरमा देखिँदैन । तर गाउँपाखामा देखिन्छ । यसलाई पुरानै शैलीमा प्रचण्डबाट अलग भएका उनका सहयात्री विप्लव लगायतका दलहरुले गरिरहेका छन् ।
र अर्को महत्वपूर्ण विषय भनेको, यहाँ माओवादी विद्रोहका परिकल्पनाकारको चर्चा हुन्छ । के प्रचण्ड त्यही शक्तिको इसारामा हिँडिरहेका हुन भने त्यसको गन्तव्य के हो ? त्यो पनि अब खोज्ने समय भएको छ ।
#ठोकोताली
(ठोकोताली समाचार, विचार, विश्लेषण र व्यंग्यको रोचक तथा घोचक प्रस्तुति हो । यसमा प्रस्तुत विषय कुनै व्यक्ति विशेष नभई समग्र प्रवृत्तिप्रति लक्षित हो ।)
प्रतिक्रिया