सरकारबाट बाहिरिने निर्णयसँगै राप्रपाका मन्त्रीहरूले दिए राजीनामा
राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको छ । राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहित मन्त्रिपरिषद्मा सहभागी राप्रपा नेताहरूले शनिबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका हुन् ।
यसअघि आजै बिहान बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले राष्ट्रपति निर्वाचनमा पछिल्लो विकसित घटनाक्रमको समीक्षा गर्दै पार्टी सरकारबाट फिर्ता हुने निर्णय गरेको थियो । बैठकले प्रदेश सभामा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
शुक्रबार साँझ नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीसहित ८ दलको नयाँ गठबन्धन बनेपछि राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । राप्रपाले सरकारलाई दिएको समर्थन भने फिर्ता लिइसकेको छैन ।
राप्रपाबाट मन्त्रिपरिषद्मा अध्यक्ष लिङ्देनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, उपाध्यक्ष विक्रम पाण्डेले शहरी विकास, नेता ध्रुवबहादुर प्रधानले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हालेका थिए । त्यस्तै नेता दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री थिए ।
प्रतिक्रिया