बर्दियाको बुर्तिया नाका खोल्न सांसद गौतमको माग

नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले बर्दियाको बुर्तिया नाका खोल्न माग गरेका छन्।

प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले नेपाल र भारतबीच विगतमा भएको वाणिज्य सन्धिअनुसार उक्त नाका खोल्ने सम्झौता भए पनि अझैसम्म नाका नखोलिएको भन्दै त्यसका निम्ति पहलकदमी लिन सरकारको ध्यानाकर्षण गराए।

सांसद गौतमले राजस्व उठ्ने ठाउँमा पनि सरकारले भन्सारको व्यवस्था नगर्दा राजस्वमा प्रत्यक्ष असर परिरहेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।

उनले भने, ‘बर्दियामा राष्ट्रिय निकुञ्ज रहेको छ र थुप्रै बासिन्दा बसोबास गर्ने गरेका छन्। विभिन्न सयौं प्रजातिका वन्यजन्तु छन् र बाघ र गैंडाको संख्या बढ्दै छ, हात्तीको आवतजावत बढ्दो छ। जनताले मानव र वन्यजन्तुको द्वन्द्वका कारण त्यहाँ गुरुयोजना बनाएर समस्या समाधान गर्न जरुरी छ।’

नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्माले लामो समयदेखि रहिआएको अव्यवस्थित बसोबासीको समस्यालाई छिटो समाधान गरी उनीहरूलाई सोही स्थानमा सहज व्यवस्थापन गर्न माग गरे। लुम्बिनी जिल्लाको रोहिणी नदीको संरक्षण गर्न माग गर्दै सांसद विश्वकर्माले यसबाट सो ठाउँका किसानले सिँचाइको सुविधा पाउने तथा पर्यटकीय विकाससमेत हुने विश्वास व्यक्त गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *