त्रिकोणात्मक सिरिज विजेता खेलाडीलाई सरकारले जनही २ लाख दिने

सरकारले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज विजेता नेपाली क्रिकेट टोलीका सदस्यहरूलाई जनही २ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेसँगै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले हालै सम्पन्न नामिबिया र स्कटल्याण्डसँगको त्रिकोणात्मक सिरिज जितेका सम्पूर्ण नेपाली क्रिकेट खेलाडीहरूलाई प्रोत्साहनस्वरूप जनही २ लाख रुपैयाँ दिने घोषणा गरे ।

प्रधानमन्त्री दाहालले भने, ‘छोटो समयमा नेपालले क्रिकेटमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा आफ्नो उचाइ स्थापित गरिसकेको छ। यो सिंगो राष्ट्र र आम नेपाली जनताको लागि पनि गौरवको कुरा हो। यस पटक सबै खेल जितेर तपाईंहरूले नेपाली जनताको शिर ठाडो बनाउने ऐतिहासिक भुूमिका खेल्नुभएको छ हामी नेपाल सरकारको तर्फबाट प्रेरणास्वरूप जनही २ लाख रुपैयाँ दिने घोषणा गर्छु।’

त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा सम्पन्न त्रिकोणात्मक सिरिजमा नेपालले ४ वटै खेल जितेर सिरिज क्लिन स्वीप गरेको थियो । नेपालले लिग–२ को त्रिकोणात्मक शृंखलामा पहिलो पटक क्लिन स्वीप गरेको हो । नेपालले शृंखलामा नामिबिया र स्कटल्याण्डमाथि २–२ खेलमा विजय हात पारेको हो । यस्तै नेपालले लगातार चार खेलमा जित निकालेको पनि पहिलो पटक हो । त्रिवि मैदानमा सम्पन्न शृंखलाअन्तर्गत नेपालले नामिबियालाई दुई र तीन विकेट तथा स्टकल्याण्डलाई तीन र दुई विकेटले पराजित गरेको थियो । स्कटल्याण्डले नामिबियालाई १० विकेट र ४३ रनले हराएको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अर्को हप्ता यूएईमा हुने त्रिकोणात्मक सिरिजका लागि यूएई जाँदैछ । नेपाल क्रिकेट संघ (क्यान) ले आज यूएई भ्रमणमा जाने टोलीका सदस्यहरूको नाम सार्वजनिक गरेको छ । टिममा क्रिकेटर सन्दीप लामिछाने परेका छैनन् । नेपाली टोलीले यूएईमा घरेलु टोली तथा पपुवा न्युगिनिसँग खेल्नेछ । नेपालले २७ फेब्रुअरी (फागुन १५) मा पपुवा न्युगिनीसँग खेलेर आफ्नो यूएई भ्रमणको सुरुवात गर्नेछ ।

मार्च २ (फागुन १८) मा घरेलु टोलीसँग नेपालको खेल हुनेछ । मार्च ३ (फागुन १९) मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले यूएई भ्रमणको अन्तिम खेलमा मार्च ६ (फागुन २२) मा घरेलु टोली यूएईसँग खेल्नेछ ।

यूएई भ्रमणमा जाने नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भीम सार्की, आरिफ शेख, प्रतिश जीसी र श्याम (मौसम) ढकाल रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर