रुस-युक्रेन युद्ध : किन असफल भए पुटिन ?

जब २४ फेब्रुअरी २०२२ मा भ्लादिमर पुटिनले युक्रेनमा आक्रमण गर्न लगभग दुई लाख सैनिकहरू पठाए, त्यतिबेला उनको अनुमान थियो, केही दिनभित्र, रूसी सेना किभमा प्रवेश गर्नेछ र युक्रेनी सरकारबाट सत्ता कब्जा गर्नेछ ।

एकपछि अर्को हार र पछि हट्नु पर्ने बाध्यताका कारण यो स्पष्ट छ कि पुटिनको युक्रेन आक्रमण गर्ने योजना असफल भएको छ । तर, यो युद्धमा रुस अझै पराजित भएको छैन ।

पुटिनको मूल उद्देश्य के थियो ?
दोस्रो विश्वयुद्धको अन्त्यपछिको सबैभन्दा ठूलो युरोपेली आक्रमणलाई रुसी राष्ट्रपति पुटिनले ‘विशेष सैन्य अपरेशन’ भनेका छन् । तिनीहरूले यसलाई पूर्ण–स्तरीय युद्ध भन्दैनन्, जब कि युक्रेनभरि नागरिक बसोबासका क्षेत्रमा बमबारी गरिएको छ, र जसले लगभग १ करोड ३० लाख युक्रेनीहरूलाई या त विदेश वा आफ्नै देशमा शरणार्थी बन्न बाध्य छन् ।

आक्रमणको समयमा पुटिनले ‘युक्रेनको सैन्य शक्तिलाई हटाउने र नाजीहरूबाट मुक्त गर्ने’ उद्देश्य भएको जनाएका थिए । बलद्वारा युक्रेन कब्जा गर्ने कुनै मनसाय नरहेको उनको भनाइ थियो ।

यसभन्दा केही दिनअघि पुटिनले सन् २०१४ देखि रुसी समर्थकको कब्जामा रहेका पूर्वी युक्रेनका ती क्षेत्रहरूको स्वतन्त्रतालाई समर्थन गरेका थिए । पुटिनले पूर्वी युक्रेनका जनतालाई युक्रेनमा आठ वर्षदेखि चलिरहेको दमन र नरसंहारबाट जोगाउने वाचा गरेका थिए । तर, रुसको यो प्रचार र दाबीको सत्यतासँग कुनै सम्बन्ध छैन ।

पुटिनले नेटोलाई युक्रेनमा पाइला टेक्नबाट रोक्ने कुरा पनि गरेका थिए र यो सैन्य अभियानको उद्देश्य युक्रेनको तटस्थ स्थिति कायम राख्नु रहेको पनि बताएका थिए । राष्ट्रपति पुटिनले यो कुरा खुलेर भनेका छैनन्, तर युक्रेनको निर्वाचित सरकारलाई सत्ताबाट हटाउनु उनको सधैं सबैभन्दा ठूलो प्राथमिकता थियो ।

युक्रेनका राष्ट्रपति भोल्दिमिर जेलेन्स्कीले भनेका थिए, ‘रुसले मलाई आफ्नो निशाना नम्बर एक घोषित गरेको छ; मेरो परिवार उसको दोस्रो लक्ष्य हो ।’ जेलेन्स्कीका सल्लाहकारका अनुसार रुसी सेनाले कम्तीमा दुई पटक राष्ट्रपति भवन परिसरमा प्रवेश गर्ने प्रयास गरेको थियो ।

युक्रेनमा नाजीहरूले नरसंहार गरेको रुसी दाबीको कुनै प्रमाण भेटिएको छैन । तर, रुसको आधिकारिक समाचार एजेन्सी आरआईए नोवोस्तीले रिपोर्ट गरेको छ, ‘युक्रेनलाई नाजीहरूबाट मुक्त गर्नु भनेको युक्रेनको अस्तित्व समाप्त गर्नु हो ।’

रुसी राष्ट्रपति पुटिनले युक्रेनको छुट्टै देशको अस्तित्वलाई वर्षौंदेखि अस्वीकार गर्दै आएका छन् । सन् २०२१ मा एउटा लामो लेखमा पुटिनले नवौं शताब्दीदेखि ‘युक्रेन र रुसका जनता एक भएका छन्,’ भनेका थिए ।

कसरी पुटिनले युद्धको लक्ष्य परिवर्तन गरे ?
युक्रेनमा आक्रमण भएको एक महिनापछि, जब रूसी सेनाहरू किभ र चेर्निहाइभबाट पछि हट्न बाध्य भए, पुटिनले आफ्नो अभियानको उद्देश्यमा नाटकीय परिवर्तनको संकेत दिए । त्यसपछि रुसको मुख्य लक्ष्य ‘डोनबासलाई मुक्त गराउनु’ थियो । पूर्वी युक्रेनको लुहान्स्क र डोनोत्स्कका दुई औद्योगिक क्षेत्रहरूलाई डोनबास भनिन्छ ।

उत्तरपूर्वको खार्किभ र दक्षिणको खेरासान सहरबाट पछि हट्न बाध्य भएपछि पनि रुसका यी लक्ष्यमा कुनै परिवर्तन आएको छैन । तर, यो लक्ष्य हासिल गर्न रुसले खासै सफलता पाएको देखिँदैन ।

रणभूमिमा असफलतापछि रुसका नेताले गत वर्ष सेप्टेम्बरमा युक्रेनका चार प्रान्त रसियासँग गाभ्ने घोषणा गरेका थिए । जबकि ती क्षेत्रहरूमा रूसको पूर्ण नियन्त्रण पनि स्थापित भएको थिएन, न पूर्वमा लुहान्स्क वा डोनोत्स्क, न त दक्षिणमा खेरसान वा जापोरोज्यलाई रूसी सेनाले पूर्ण रूपमा कब्जा गर्न सकेको थियो ।

जसका कारण राष्ट्रपति पुटिन दोस्रो विश्वयुद्धपछि पहिलो पटक रुसमा अनिवार्य सैन्य भर्ती अभियान सञ्चालन गर्न बाध्य भए । तर, यो भर्ना आंशिक मात्रै थियो र यसअन्तर्गत तीन लाख रिजर्भ सिपाही मात्र भर्ना हुने थियो ।

यस समयमा, युद्ध लगभग ८५० किलोमिटर लामो एक मोर्चामा अगाडि बढिरहेको छ, र तीमा रूसद्वारा केवल सानो र दुर्लभ जीत हासिल भइरहेको छ ।

जसलाई द्रुत सैन्य अभियानको रूपमा सुरु गरिएको थियो, आज एक लामो युद्धमा परिणत भएको छ र पश्चिमी देशहरू यसमा युक्रेनलाई जित दिलाउन कटिबद्ध छन् । युक्रेन तटस्थ रहने वास्तविक सम्भावना धेरै पहिले समाप्त भइसकेको छ ।

यो युद्धबाट पुटिनले के पाए ?
यस युद्धबाट पुटिनले दाबी गर्न सक्ने सबैभन्दा ठूलो सफलता भनेको उनले क्राइमियादेखि रुसी सीमासम्म ल्यान्ड कोरिडोर स्थापना गरेका छन् । रुसले सन् २०१४ मा क्राइमियालाई गैरकानुनी रूपमा गाभेको थियो । यो भूमि कोरिडोर पछि, रूस अब क्राइमिया पुग्न केर्च स्ट्रेटमाथिको पुलमा निर्भर हुने छैन ।

पुटिनले यस क्षेत्रको कब्जाको बारेमा पनि बयान दिए र मारिउपोल र मेलिटोपोल जस्ता शहरहरूको कब्जाले ‘रूसका लागि महत्वपूर्ण परिणाम’ भएको बताए । केर्च स्ट्रेटभित्र रहेको आजोभ सागर अब रुसको भित्री समुद्र बनेको छ । यो घोषणा गर्दै पुटिनले रुसका ‘जार पिटर द ग्रेट’ पनि त्यसो गर्न सफल नभएको बताएका थिए ।

पुटिन किन असफल ?
क्राइमियासम्मको भूमि कोरिडोर कब्जा गर्नुका साथै रुसको हिंसात्मक र अप्रत्याशित युद्धले युक्रेनमा विनाश मात्रै गरेको छैन, रुसका लागि पनि यो निकै हानिकारक साबित भएको छ । यस युद्धबाट रुसले अहिलेसम्म रुसी सेनाको क्रूरता र असफलताको पर्दाफास बाहेक केही हासिल गर्न सकेको छैन ।

युक्रेनलाई हतियार दिने सम्बन्धमा रुसले दिएको चेतावनीलाई पश्चिमी देशहरूले वास्ता गरेनन् र ‘युद्ध जति नै लम्बियोस्, युक्रेनलाई उनीहरूको समर्थन जारी राख्ने’ बताए । राम्रा हिमर्स मिसाइल र जर्मनीको लेपर्ड २ ट्यांक प्राप्त गर्ने वाचासँगै युक्रेनले धेरै तोपखाना बल प्राप्त गरेको छ ।

तर, यो युद्ध सकिएको छैन । रुसले यस वर्षको सुरुमा सोलेदार सहर कब्जा गरेको थियो र चाँडै नै पश्चिमको बाटोमा रहेको बाख्मुत सहरलाई नियन्त्रणमा लिने आशा राखेको छ । रुसले गत वर्ष गुमाएका क्षेत्रहरु पनि जित्ने आशा राखेको छ ।

आवश्यक भएमा पुटिनले सेना भर्ती अभियानलाई अझ बढाउन र युद्धलाई लम्ब्याउन सक्छन् । रुस एक आणविक शक्ति राष्ट्र हो र पुटिनले आवश्यक परे रुसको सुरक्षाका लागि आणविक हतियार प्रयोग गर्न तयार रहेको र युक्रेनको कब्जामा रहेको क्षेत्रमा उभिने संकेत गरेका छन् ।

७० वर्षीय राष्ट्रपति पुटिनले सैन्य असफलताबाट आफूलाई टाढा राख्ने प्रयास गरेका छन् । तर, कम्तिमा रूस बाहिर, उनको छविलाई गम्भीर क्षति भएको छ, र अब उनी विरलै आफ्नो देशबाट बाहिर निस्कन्छन् । यस्तो देखिन्छ कि रूसको अर्थतन्त्रले पश्चिमी देशहरूको कठोर प्रतिबन्धहरू सामना गर्न सक्षम भएको छ । यद्यपि, रूसको बजेट घाटा बढ्दै गएको छ र तेल र ग्याँस राजस्व नाटकीय रूपमा संकुचित भएको छ ।

यस युद्धको बीउ स २०१३ मा छरिएको थियो, जब रुसले युक्रेनका रुस समर्थक नेतालाई युरोपेली संघसँगको प्रस्तावित सम्झौता रद्द गर्न बाध्य पारेको थियो । यसपछि युक्रेनभर विरोध प्रदर्शन सुरु भयो, जसका कारण रुस समर्थक नेताले सत्ता छोड्नुपरेको थियो । त्यसपछि रुसले क्राइमियालाई गाभेको थियो र पूर्वी युक्रेनमा जग्गा कब्जा अभियान सुरु गर्यो ।

सन् २०२२ मा युक्रेनमा रुसले गरेको आक्रमणको चार महिनापछि युरोपेली संघले युक्रेनलाई उम्मेदवारको हैसियत दिएको छ र युक्रेन जतिसक्दो चाँडो ईयू सदस्यता लिन चाहन्छ । -बीबीसी हिन्दीबाट भावानुवाद

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर