प्रदेश १ मा प्रहरी अस्पतालको सेवा सुरु, महानिरीक्षक सिंहले गरे उद्घाटन
मोरङको बेलबारी-३ मा बुधबार १ नं. प्रदेश प्रहरी अस्पतालको प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले उद्घान गरे। तत्कालको आवश्यकता पूरा गर्ने गरी १५ शय्याको अस्पताल उद्घाटन भएको हो।
महानिरीक्षक सिंहले १ नं. प्रदेशमा प्रहरी तथा भूतपूर्व प्रहरीको संख्या ठूलो रहेकाले प्रहरी अस्पताल सञ्चालन गरिएको बताए। उनले नाम प्रहरी अस्पताल भए पनि प्रहरीका अतिरिक्त सर्वसाधारण नागरिकले पनि सेवा पाउने उल्लेख गरे। प्रदेशमा रहेका पूर्वप्रहरी कर्मचारी, अशक्त तथा बहालवाला प्रहरी कर्मचारी र आश्रित परिवारसमेतको स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले प्रदेश प्रहरी अस्पताल सञ्चालनमा ल्याइएको उनले बताए।
कार्यक्रममा प्रदेश अस्पतालसम्बन्धी प्रतिवेदन डा. सरोज सिंहले प्रस्तुत गरेका थिए। उनले अस्पतालमा तत्कालका लागि प्रयोगशाला, एक्सरे तथा आकस्मिक सेवा उपलब्ध गराउनुका साथै ११ जना जनशक्ति रहने उल्लेख गरे।
बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले बेलबारीलाई प्राथमिकतामा राखेर अस्पताल शुभारम्भ गरेकोमा प्रहरी अस्पतालको टिमप्रति विशेष आभार प्रकट गरे।
नेपाल प्रहरी प्रदेश संरचनामा रूपान्तरण हुँदै गरेको तथा प्रदेशभरिका प्रहरी कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राख्दै अस्पतालको स्थापना गरी सेवा सुरु गरिएको नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौंका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले जानकारी दिए।
प्रतिक्रिया