यस वर्ष साढे सात हजार विद्यार्थीले लिए एनसीसी तालिम
यस वर्ष साढे सात हजार बढी विद्यार्थीले राष्ट्रिय सेवा दल (एनसीसी) को तालिम लिएका छन्। एनसीसीका अनुसार तालिम सुरु भएयता हालसम्म ६६ हजार ७७६ विद्यार्थीले तालिम लिइसकेका छन्। यस वर्ष मात्रै जुनियर डिभिजनअन्तर्गत ५ हजार ९७६ जना र सिनियर डिभिजनअन्तर्गत १ हजार ७२७ हजार जना छात्रछात्राले तालिम लिएका हुन्।
नेपाल अधिराज्यभरिका विभिन्न सरकारी तथा निजी विद्यालयहरूमा अध्ययनरत छात्रछात्राहरूलाई सहभागी गराई राष्ट्रिय सेवा दल तालिम सञ्चालन हुँदै आएको छ। उच्च माध्यामिक विद्यालयका छात्रछात्राहरूलाई सिनियर डिभिजन तालिम तथा माध्यामिक विद्यालयका छात्रछात्राहरूलाई जुनियर डिभिजन तालिम दिइन्छ। नेपालमा वि.सं. २०२२ बाट यस तालिमको सुरुवात भएको हो।
यस वर्ष तालिमको पहिलो चरण (संस्थागत चरण) अन्तर्गत राष्ट्रिय सेवा दलबाट स्थान विशेषका विद्यालयहरूमा शिक्षकहरू खटिई जुनियर डिभिजन तालिम साउन १ गतेबाट कात्तिक १७ गतेसम्म र सिनियर डिभिजन तालिम भदौ १ गतेबाट मंसिर १८ गतेसम्म सञ्चालन भएको थियो।
दोस्रो चरणअन्तर्गत देशका विभिन्न स्थानहरूमा रहेका राष्ट्रिय सेवा दलका शिक्षालयहरूमा जुनियर डिभिजन तालिमको वार्षिक सामूहिक क्याम्प मंसिर १८ गतेबाट माघ १० गतेसम्म (३ चरणमा) र सिनियर डिभिजन तालिमको वार्षिक सामूहिक क्याम्प पुस २५ गतेबाट माघ २७ गतेसम्म (२ चरणमा) सञ्चालन भएको थियो ।
जुनियर डिभजन तालिमको दीक्षान्त समारोह सम्पन्न भइसकेको छ भने सिनियर डिभिजन तालिमको दीक्षान्त समारोह बिहीबार (फागुन ११ गते) प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा हुनेछ।
महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६०औं वार्षिक उत्सवका अवसरमा आयोजित सेना दिवस–२०७९ अन्तर्गत राष्ट्रिय सेवा दलद्वारा आयोजना भएको युथ एक्सचेन्ज प्रोग्राममा सहभागी हुन भारत, माल्दिभ्स र पाकिस्तानको एनसीसीका डाइरेक्टर जनरल, स्टाफ अधिकृत, समन्वय अधिकृत, क्याडेटहरू (छात्र २१ र छात्रा २१) गरी जम्मा ५१ जना फागुन ३ गतेबाट१४ गतेसम्म विविध कार्यक्रमहरूमा सहभागी हुन नेपाल आएका छन्।
भ्रमणका दौरान उक्त टोलीहरूले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापतिसँग भेटघाट गर्नुका साथै काठमाडौं तथा पोखरास्थित विभिन्न धार्मिक एवं पर्यटकीयस्थलहरूको अवलोकन भ्रमणसमेत गरेका छन्। त्यसैगरी सोही कार्यक्रमअन्तर्गत यस वर्ष नेपालबाट माल्दिभ्समा ४ जना र भारतमा १६ जना गरी जम्मा २० जना छात्रछात्राहरूले सहभागिता जनाइसकेका छन्।
प्रतिक्रिया