फलफूल व्यवसायको आवरणमा काठमाडौंमा हुण्डी कारोबार, करिब ७२ लाखसहित भारतीय पक्राउ

काठमाडौंमा रहेर फलफूल व्यवसायको आवरणमा हुण्डी कारोबार गरेको आरोपमा ठूलो रकमसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

भारतको हिमाचल सिमलाथाना घर भई काठमाडौं महानगरपालिका-१४ कुुलेश्वरमा रहेर माँ चामुण्डा फ्रुट सेन्टर सञ्चालन गर्दै आएका ४९ वर्षीय विजयकुमार गुप्ता नगद र चेक गरी ७१ लाख ८० हजार रुपैयाँसहित पक्राउ परेका हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले कुलेश्वर क्षेत्रमा केही व्यक्तिले नेपाल राष्ट्र बैंकले जारी गरेको आदेश–निर्देशन विपरीत हुने गरी इजाजतपत्र नलिइकन वित्तीय कारोबार (हुण्डी) गर्दै आएको भन्ने गोप्य सूचनाका आधारमा उनलाई सोमबार पक्राउ गरेको हो।

हुण्डी गर्ने प्रयोजनका लागि संकलन गरेको नगद ५७ लाख रुपैयाँ र १४ लाख ८० हजार रुपैयाँ बराबरको ३ थान चेकसहित उनलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

पक्राउ परेका उनले फलफूल व्यवसायको आवरणमा विगत लामो समयदेखि अवैध हुण्डीको कारोबार गर्दै आएको खुलेको छ। साथै उनी यसअघि पनि २०७५ साउन ७ गते भारतीय रकम २ लाख र नेपाली रुपैयाँ ३१ लाखसहित सोही कार्यालयबाट पक्राउ परी राजस्व छलीसम्बन्धी कसुरमा राजस्व अनुसन्धान विभाग पठाइएको अनसन्धानबाट थाहा भएको छ।

उनलाई नेपाल राष्ट्र बैक ऐन, २०५८ को दफा ९५ बमोजिम आवाश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको एसपी राठौरले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *