बाल मन्दिरसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न सांसद श्रेष्ठकाे माग

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले ‘नेपाल बाल मन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग’को प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन्।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले बाल मन्दिरको मात्रै २८ रोपनी जग्गा त्यहाँका पदाधिकारीले आफूखुशी भोगचलन गर्न प्रतिष्ठित व्यक्ति र घरानालाई दिएकोलगायतका विषयमा छानबिन गर्न गठित सो आयोगको प्रतिवेदन सरकारले तत्काल सार्वजनिक गर्नुपर्ने बताएकी हुन्।

उनले बाल मन्दिरलाई कब्जामा लिएर त्यसको चल/अचल सम्पत्ति दुरुपयोग गर्ने त्यहाँका पदाधिकारीलाई कानूनी कारबाही गर्न सो जाँचबुझ आयोगले सुझाव दिएको आफूले जानकारी पाएको उल्लेख गर्दै सो प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारबाही गर्न ढिलाइ गर्न नहुने बताइन्। सांसद श्रेष्ठले अनाथ बालबालिकाका लागि भनेर दिइएको सम्पत्तिसमेत अतिक्रमण गरिएको भन्दै आक्रोश व्यक्त गरिन्।

सांसद श्रेष्ठले नेपाल ललितकला प्रतिष्ठानको २९ रोपनी जग्गासमेत दुरुपयोग गर्ने काम भइरहेको भन्दै त्यसमाथि निगरानी राख्न पनि सरकारलाई सचेत गराइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर