बालिकाको मृत्युपछि हिमाल अस्पतालमा पीडित पक्षको धर्ना, आकस्मिकबाहेकका सबै सेवा प्रभावित

काठमाडौंको नक्सालस्थित हिमाल अस्पतालको आकस्मिकबाहेकका सबै सेवा प्रभावित भएको छ । बालिका प्रशंसा गौतमको न्यायका लागि भन्दै पीडित पक्षले बुधबार अस्पतालभित्रै चर्का नाराबाजीसहित धर्ना दिएपछि सो अस्पतालको आकस्मिकबाहेकका सबै सेवा प्रभावित भएको हो ।

मोरङका गंगा गौतमले आफ्नी २८ महिनाकी छोरी प्रशंसाको उपचारका क्रममा लापरबाही गरेका कारण ज्यान गएको भन्दै सो अस्पताल र त्यहाँ कार्यरत चिकित्सक डाक्टर जयदेव यादवसँग मंगलबार पत्रकार सम्मेलन गरी उचित क्षतिपूर्तिको माग गरेका थिए । आज पीडित पक्षले सो अस्पताल व्यवस्थापनसँग उचित क्षतिपूर्तिको माग गर्दै धर्ना दिएका हुन् भने चिकित्सक यादवमाथि आक्रोशित हुँदै छानबिन गरी कडा कारबाही गर्न पनि माग गरेका छन् । उनीहरूले ‘मान्छे मार्न पाइँदैन’ ‘ज्यानमारा चिकित्सक चाहिँदैन’ जस्ता नारा लगाउँदै सो अस्पतालको मुख्य गेटमा समेत ताला लगाइदिएका छन् ।

पीडित पक्षले अस्पताल व्यवस्थापनले तत्काल आफूहरूको माग सम्बोधन नगरे अस्पतालमा तोडफोडसमेत गर्न बाध्य हुने चेतावनी दिएका छन् । गत माघ २३ गते सामान्य रुघाखोकी र ज्वरो आएकी बालिका प्रशंसालाई उनका बुबा गंगा गौतमले उपचारका लागि सो अस्पताल पुर्‍याएका थिए । तर, सो अस्पतालमा कार्यरत चिकित्सक यादवले कुनै परीक्षण नगराई औषधी दिएको र बिरामी शिथिल भएपछि कान्ति बाल अस्पतालमा रिफर गर्दा पनि सो लेटरमा चिकित्सकको हस्ताक्षरसमेत नगरेर लापरबाही गरेकाले उनको ज्यान गएको पीडित पक्षको आरोप छ ।

पीडित गौतमले चिकित्सक यादवको लाइसेन्स खारेज गर्न र आफूहरूलाई उचित क्षतिपूर्ति दिलाउन माग गर्दै गत फागुन ८ गते नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एशोसिएशन, जिल्ला प्रशासन कार्यालय काठमाडौं, प्रहरी परिसर टेकुमा पनि उजुरी दिएका छन् । त्यसको बोधार्थ हिमाल अस्पताललाई पनि दिइएको पीडित गौतमले बताएका छन् ।

प्रशंसाको १३औं पुण्यतिथि सकिएपछि पीडित पक्षले सो अस्पताल परिसरमै धर्ना दिन सुरु गरेका हुन् । गौतमले न्यायका लागि अदालत पनि जान बाध्य हुने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर