मिथिला मध्यमा परिक्रमा विधिवत रूपमा सुरु (तस्बिरहरू)

मिथिलाको चर्चित सांस्कृतिक उत्सव १५ दिवसीय मिथिला मध्यमा परिक्रमा विधिवत रूपमा सुरु भएको छ । गत बिहीबारबाट सुरु भएको परिक्रमा अहिले पनि जारी रहेको हो । धनुषाको मिथिला बिहारी नगरपालिकास्थित ठेरा कचुरीमा रहेको मिथिला बिहारी मन्दिरबाट निस्केको रामसीताको डोला जानकी मन्दिरमा दर्शन गराएर जनकपुरधामको दक्षिणी ढोकामा रहेको हनुमान गढीमा पुगेपछि परिक्रमाको विधिवत सुरुवात हुने परम्परा छ । नेपाल र भारतका गरी १ सय ३३ किलोमिटर लामो यस पैदल यात्रामा हजारौं श्रद्धालु सहभागी हुन्छन् ।

परिक्रमामा सहभागी श्रद्धालुहरू सोमबार जनकपुरधाममा विश्राम गरेर मंगलबार बिहानै भारतको कल्याणेश्वरका लागि प्रस्थान गरेका छन् । परिक्रमाको डोलालाई मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले काँध लगाएर विधिवत सुरुवात गरेका थिए । मुख्यमन्त्री यादवले मिथिला मध्यमा परिक्रमाको डोलाको दर्शन गर्न पाउँदा आफूलाई आत्मीय आनन्दको अनुभूति भएको बताए । उनले आउने दिनमा मधेस सरकार मिथिला बिहारी क्षेत्रलाई मिथिला बिहारी विकास परिषद् बनाएर विकास गर्नुका साथै परिक्रमा मार्गलाई सहज र सुविधायुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।

परिक्रमाको इतिहास उल्लेख नभए पनि मध्यमा परिक्रमालाई व्यवस्थित गर्नुमा धनुषाको कचुरी मठको प्रयासलाई सह्रानीय मान्न सकिन्छ । सोही मन्दिरले अहिले पनि मिथिला मध्यमा परिक्रमाको नेतृत्व गर्ने गरेको छ । परिक्रमालाई व्यवस्थित पार्नका लागि कचुरी मठका तत्कालीन महन्थ लाल शरणले महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।

नेपाल र भारतबीचको धार्मिक सांस्कृतिक महत्त्वलाई मिथिला मध्यमा परिक्रमाले वर्षौंदेखि प्रगाढ बनाउँदै आइरहेको छ । यसलाई व्यवस्थित गर्न सकिए दुवै देशको पर्यटन क्षेत्रमा टेवा पुग्ने विश्वास स्थानीयको छ । यसलाई व्यवस्थित पार्नेतर्फ सरकारको ध्यान जान नसकेको उनीहरूको गुनासो छ । हरेक वर्ष हुने परिक्रमामा भक्तजनले १५ दिनमा नेपालको १ सय ७ र भारतको २६ किलोमिटरको दूरी पैदल यात्रा गर्छन् । पवित्र धार्मिक स्थलहरूको परिक्रमा गर्दा पाप नाश हुनुका साथै पुण्य मिल्ने जनविश्वास छ । परिक्रमा अवधिभर सहभागीहरूले झाँकी, भजनकीर्तन पनि गर्छन् । नेपाल–भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतीक बनेको परिक्रमा यात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर