सेनाले बनाइदियो गाउँपालिकालाई हेलिप्याड
डोटीको बोगटान फुड्सिल गाउँपालिका-७ चवराचौतारामा नेपाली सेनाद्वारा निर्माण गरिएको हेलिप्याड गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।
गाउँपालिकासँगको समन्वयमा सिलगढीस्थित भैरवप्रसाद गण डोटीले चालु आर्थिक वर्ष २०७९/०८० मा सीमित कार्यक्रमअन्तर्गत पाँच लाख रुपैयाँ लगानीमा निर्माण गरिएको हेलिप्याडको सोमबार उद्घाटनसँगै गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । हेलिप्याडको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिला र भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
विपद्मा परेका, जटिल अवस्थाका गर्भवती/सुत्केरी तथा गम्भीर खालका बिरामीलाई आकस्मिक उद्धार गर्न सहज होस् भन्ने उद्देश्यका साथ हेलिप्याड निर्माण गरिएको नेपाली सेना भैरवप्रसाद गण सिलगढीका गणपति प्रमुख सेनानी जनमतबहादुर कार्कीले बताए । जिल्ला सदरमुकामदेखि टाढा दुर्गम क्षेत्रमा रहेको यस क्षेत्रमा सडकको सहज पहुँच नहुने भएकाले आपत्कालीन अवस्थामा उद्धार गर्न सहज होस् भन्नका लागि हेलिप्याड निर्माण गरिएको प्रमुख सेनानी कार्कीले बताए ।
गत मंसिर ८ देखि निर्माण कार्य सुरु गरेको नेपाली सेनाले ४५ दिनमा हेलिप्याड तयार गरेको भैरवप्रसाद गणले जनाएको छ । ग्रामीण क्षेत्रमा हेलिप्याड निर्माण हुँदा प्राकृतिक विपद्को समयमा उद्धारमा सहजता हुने बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष गडसिलाले भने । उनले नेपाली सेनाले निर्माण गरेको हेलिप्याडको गाउँपालिकाले पूर्ण रूपमा संरक्षण गर्ने बताए ।
नेपाली सेनाले बोगटान क्षेत्रमा हेलिप्याड निर्माण गर्दा सैनिक र नागरिकबीचको सम्बन्ध सुधारमा थप टेवा पुग्नुका साथै हेलिप्याड निर्माणबाट गाउँपालिकाका करिब १८ हजार लाभान्वित हुने उनको भनाइ थियो ।
जिल्ला सदरमुकामदेखि बोगटान क्षेत्रका सबै क्षेत्रमा यातायातको सुविधा पुगेको छैन । पुगेका स्थानसम्म यातायातका साधनका रूपमा महिन्द्रा बोेलेरो जिप सीमित संख्यामा मात्र जाने गर्छन् । बोगटान क्षेत्रमा पुग्न छ देखि १० घण्टा समय लाग्ने गर्दछ । डोटी जिल्लामा सदरमुकामभन्दा बाहिर बनेको यो पहिलो हेलिप्याड हो ।
- स्वास्थ्य सेवा सुधारका लागि सरकारले गरेका निर्णयहरू रोकिने अवस्था छैन : स्वास्थ्यमन्त्री
- वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउन सहमति
- स्वास्थ्य मन्त्रालयद्वारा ‘जेनेरिक’ औषधि सुझाव समिति गठन
- एउटै व्यक्तिले विद्युत अनुमतिपत्र होल्ड गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ : सांसद शर्मा
प्रतिक्रिया