जर्मन सांसदहरूकाे टाेली काठमाडाैंमा, प्रधानमन्त्री र मन्त्रीहरूसहित उच्च अधिकारीसँग भेट

जर्मनीको प्रतिनिधि सभा जर्मन बुन्डेस्ट्यागबाट दक्षिण एशियाली संसदीय प्रतिनिधिमण्डल चार दिने नेपाल भ्रमणका लागि काठमाडाैं आएको छ। प्रतिनिधिमण्डलले ७ देखि १० फागुनसम्म नेपाल भ्रमण गर्नेछ।

छ सदस्यीय संसदीय प्रतिनिधिमण्डलमा सांसद रेनाटे कुनास्ट, एन्ड्रियास लारेम, पाल लेह्रिडर, रिया श्रोडर, डा. माल्टे काउफम्यान र डा. आन्द्रे हान रहेका छन्।

‘महामारीपछिको यो भ्रमणले नेपाल र जर्मनीबीचको संसदीय सम्बन्धलाई थप सुदृढ बनाउँदै ६० वर्षभन्दा लामो समयदेखिको द्विपक्षीय मित्रता र सहयोगलाई थप बलियो बनाउनेछ,’ प्रतिनिधिमण्डलका प्रमुख रेनाट कुनास्टले भनिन्।

प्रतिनिधिमण्डलले नेपालको आर्थिक रूपान्तरण, पर्यटन प्रवर्द्धन, नेपालको शान्ति प्रक्रिया र मानव अधिकार, महिला सशक्तीकरण, नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था, कृषि र क्षेत्रीय सहयोगका साथै जर्मन-नेपाल विकास सहयोगलगायतका विषयमा छलफल गर्नेछ।

प्रतिनिधिमण्डलका सदस्यहरूले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साह र पररास्ट्रसचिव भरतराज पौड्यालसँग भेटघाट गरेका छन्।

जर्मन संसदीय प्रतिनिधिमण्डलले नेपालको संघीय संसद्का सदस्यहरूसँग पनि अन्तरक्रिया गरे।

औपचारिक भेटघाटका साथै संसदीय प्रतिनिधिमण्डलले जर्मन विकास सहयोग, नेपालमा कार्यरत जर्मन गैरसरकारी संस्था र मानव अधिकार संगठनका प्रतिनिधिसँग पनि अन्तरक्रिया गर्नेछ। प्रतिनिधिमण्डलले इसिमोड नलेज पार्क, नेपाल व्यावसायिक प्रतिष्ठान र नेपाल सीप तथा तालिम सचिवालय (एनएसएसटी) को पनि भ्रमण गर्ने योजना बनाएको छ।

चार दिने नेपाल भ्रमणका क्रममा संसदीय प्रतिनिधिमण्डलले भक्तपुर र बौद्धनाथस्थित सांस्कृतिक सम्पदाको पनि भ्रमण गर्ने योजना रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *