विश्वकप क्रिकेट लिग-२ : नामिबियाको लगातार चौथो हार
नेपालमा जारी आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृंखलाको चौथो खेलमा पनि नामिबिया पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सोमवार सम्पन्न खेलमा नामिबिया स्कटल्याण्डसँग ४३ रनले पराजित भएसँगै जारी त्रिकोणात्मक श्रृंखलामा लतागार चौथो हार भोगेको हो । यस हारसँगै श्रृंखलामा जितबिहीन बन्दा नामिबिया ३४ खेलमा ३७ अंकमा सिमित बन्यो । यसका बाबजुत पनि नामिबिया तालिकाको तेस्रो स्थानमा यथावत छ । लिग–२ को च्याम्पियन बनिसकेको स्कटल्याण्ड जितका साथ ३५ खेलबाट ५० अंकका सथ शीर्ष स्थानमा यथावत छ ।
नेपाल भ्रमणमा रहेको नामिबियाले स्कटल्याण्डबाट प्राप्त २ सय २२ रनको लक्ष्य पछ्याउने क्रममा ३८.४ ओभरमा एक सय ७८ रनमै समेटियो । नामिबियाका लागि लो ह्याण्डर लरेन्सले ६७ बलमा ६ चौकाको मद्दतमा सर्वाधिक ५२ रन बनाए पनि टोलीलाई जित दिलाउन भने सकेनन् । यसैगरी कप्तान जेरार्ड इरस्मसले ४३, जेन ग्रिनले २५ तथा शउन फोउच र रुबेन ट्रम्पलम्यानले समान १० रन जोडेपनि अन्य खेलाडीले राम्रो स्कोर छुन सकेनन् । नामिबियाको इनिङलाई सस्तैमा समेट्ने क्रममा स्कटल्याण्डका मार्क वाटले सर्वाधिका ४ विकेट निकाल्दा, माइकल लिस्कले ३, ब्रेण्डन म्याकमुलनले २ तथा क्रिस ग्रेभेसले १ विकेट आफ्नो नाममा लेखाए ।
त्रिवि मैदानमा यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४८.४ ओभरमा सबै विकेट गुमाएर २ सय २१ रन बनाउन सफल भएको थियो । स्कटल्याण्डका लागि किस्टोफ म्याकब्रिडले ७५ बलमा सात चौकाको मद्दतमा सर्वाधिक ४७ रनको पारी खेले । यसैगरी टोमस म्याकिनटोसले ३४, कप्तान रिची बेरिङटनले ३२, माइकल लिस्कले २९, लियम नेलोरले २०, म्याथ्यु क्रसले १६ र क्रिस ग्रेभेसले १४ रन जोडे । नामिबियाका लागि रुबेन ट्रम्पलम्यान एक्लैले ५ विकेट हात पार्दा टान्गिनी लुंगामिनीले २ तथा बेर्नार्ड स्कोल्ट्ज, बेन सिकोन्गो र पिक्की या फ्रान्सले समान १/१ विकेट हात पारे ।
यससँगै नामिबियाले श्रृंखलाका चारै खेलमा पराजय व्यहोरेको हो । यसअघि नामिबिया नेपालसँग पहिलो खेलमा दुई विकेट, दोस्रो खेल स्कटल्याण्डसँग १० विकेट र नेपालसँगको दोस्रो खेलमा ३ विकेटले पराजित भएको थियो । श्रृंखलामा मंगलवार अन्तिम खेल नेपाल र स्कटल्याण्डबीच प्रतिष्पर्धा हुनेछ ।
प्रतिक्रिया