बालाजु घटना : छानबिन समितिले बुझायो प्रतिवेदन, डीएसपीद्वय विष्ट र बमलाई विभागीय कारबाही गर्न सिफारिस

गत सोमबार काठमाडौंको बालाजु क्षेत्रमा यातायात मजदुरको आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाट घटना छानबिनका लागि गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ।

बालाजु वृत्तका डीएसपी रविन विष्ट र सोह्रखुट्टे वृत्तका डीएसपी गणेशबहादुर बमलाई विभागीय कारबाहीको सिफारिससहित समितिले सोमबार आफ्नो प्रतिवेदन बुझाएको हो।

घटनामा डीएसपीद्वयले उचित सुरक्षा व्यवस्थापन गर्न नसकेको निष्कर्षसहित समितिले उनीहरूलाई विभागीय कारबाहीको सिफारिस गरेको हो।

घटना हुनुमा डीएसपीद्वय विष्ट र बमको फिल्ड व्यवस्थापकीय भूमिका कमजोर देखिएको समितिको ठहर छ।

‘जुन घटना भयो, त्यसमा डिएसपीद्वय विष्ट र बमको कमजोरी देखियो,’ प्रतिवेदनमा भनिएको छ, ‘उनीहरूलाई विभागीय कारबाहीको लागि सिफारिस गरिन्छ।’

प्रहरी प्रधान कार्यालयले घटना छानबिनका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी) मसाउद आलम खाँको संयोजक्तवमा ५ सदस्यीय समिति गठन गरेको थियो।

समितिमा डीआईजी खाँसहित उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालयकुमार श्रेष्ठ, जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालसहितको टोली थियो।

आन्दोलनकारी यातायात मजदुरले माछापोखरीमा प्रहरीको दुईवटा गाडीमा आगजनी गरेका थिए। बालाजुका डीएसपी रविन विष्ट चढ्ने बा.२ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) र प्रहरी वृत्त बालाजुको बा.१ झ ७२२४ नम्बरको गाडीमा आगजनी भएको हो।

यस्तै ल्होत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसीडीसी मोबाइल प्रालि र डायमण्ड मोबाइल प्रालि तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौं सुपर मार्केट प्रालिबाट मोबाइल लुटपाट भएको थियो।

यी घटनामा संलग्न थुप्रैलाई प्रहरीले पक्राउ गरिसकेकाे छ भने थप अनुसन्धान जारी छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *