कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन्। बैंक सञ्चालक समिति (बोर्ड) को शनिबार बसेको बैठकले गुरुङलाई सीईओमा नियुक्त गरेको हो।

अनिल उपाध्याय कार्यकाल पूरा गरेर अवकाश भएपछि सीईओ पद रिक्त थियो। यसअघि सीईओ छनोट समितिले तीनजनाको नाम बोर्डमा सिफारिस गरेको थियो। तीमध्येबाट गुरुङलाई सीईओ बनाउने निर्णय बोर्डले गरेको थियो। नवनियुक्त सीईओ गुरुङले भोलि सोमबारदेखि कार्यभार सम्हाल्नेछन्।

कृषि विकास बैंकको सीईओमा २२ जनाले आवेदन दिएका थिए। तीमध्ये ५ जनाको नाम सर्ट लिस्ट गरिएको थियो। बैंकको सीईओ पदका लागि गुरुङसँगै कृषि विकास बैंकका निमित्त सीईओ प्रताप सुवेदी, कृषि विकास बैंकका कामु नायब महाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, नेपाल एसबिआई बैंकका चिफ रिस्क एण्ड कम्प्लायन्स अफिसर विष्णुदेव यादव र राष्ट्रिय सहकारी बैंकका बैंकका बद्रीकुमार गुरागाईंको नाम सर्ट लिस्ट गरिएको थियो। सबै प्रतिस्पर्धीलाई पछि पार्दै गुरुङ सीईओ बनेका छन्।

गुरुङसँग बैंकिङ क्षेत्रमा साढे २ दशक बढी काम गरेको अनुभव छ। गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ करिअर सुरु गरेका थिए। हिमालयन बैंकमा एक दशक काम गरेका उनले ग्लोबल आईएमई बैंकको वरिष्ठ प्रबन्धक पदमा रहेर काम गरे।

ग्लोबल आईएमई बैंकमा साढे ३ वर्ष काम गरेपछि गुरुङ नायब महाप्रबन्धक पदमा मेगा बैंक प्रवेश गरेका थिए। उनले मेगा बैंकमा साढे २ वर्ष काम गरे। त्यसपछि उनी सिभिल बैंक प्रवेश गरेर साढे ४ वर्ष डेपुटी सीईओ भए। गुरुङ सिभिल बैंकको सीईओसमेत बने।

सिभिल बैंक छाडेर गुरुङ म्यानमारको बैंकमा काम गर्न पुगे। त्यहाँ उनले म्यानमार सिटिजन्स बैंकमा सीईओकै जिम्मेवारीमा काम गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *