तीन राष्ट्रिय निकुञ्जका कर्मचारी र सैनिकलाई डढेलो नियन्त्रण तालिम

कञ्चनपुरका शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहित तीन निकुञ्जका कर्मचारी र सैनिक टोलीलाई डढेलो नियन्त्रणसम्बन्धी तालिम प्रदान गरिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको सहकार्यमा बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा डढेलो नियन्त्रण कार्यमा अग्रपंक्तिमा खटिने कर्मचारीका लागि चार दिने तालिम सञ्चालन गरिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष कञ्चनपुरका प्रमुख लक्ष्मीराज जोशीले तीन राष्ट्रिय निकुञ्ज र यहाँस्थित निकुञ्ज सुरक्षार्थ खटिएको रुद्रध्वज गणको सैनिक टोलीलाई तालिम प्रदान गरिएको जानकारी दिए ।
तालिममा ३५ जनाको सहभागिता रहेको र उक्त प्रशिक्षार्थी टोलीलाई निकुञ्जभित्रको फाँट डढेलो नियन्त्रणको अभ्यास समेत गराइँदैछ । यसअघि पनि विभिन्न सरोकारवाला निकायबाट यसप्रकारका तालिम गरिँदै आएका छन् । उनले भने, ‘तीन निकुञ्जका कर्मचारीलाई चार दिनको तालिम यहाँ पहिलो पटक गरिएको हो ।’

तालिममा सैनिक टोलीसँगै निकुञ्जका सिनियर गेमस्काउटलगायत सहभागी छन् । गर्मीयाम सुरु भएसँगै यहाँका निकुञ्ज तथा सामुदायिक वनमा डढेलो लाग्ने समस्या हुने हुँदा त्यसको न्युनीकरण र व्यवस्थापनका लागि तालिम प्रदान गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हरेक गर्मीयाममा डढेलो लाग्ने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर