
एमालेविरुद्ध चक्रव्यूह रच्न खोजिँदैछ : ओली


फाइल तस्बिर।
सत्तारूढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेको टिप्पणी गरेका छन्।
अध्यक्ष ओलीले स्वस्थ प्रतिस्पर्धा गर्न नसक्ने राजनीतिक शक्तिहरूले अहिले पनि आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास गरिरहेको भन्दै त्यसलाई तोडेर अघि जानुपर्ने अवस्था रहेको पनि बताए।
शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयबाट ‘मिसन ग्रासरुट’ नाम दिइएको दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियानको भर्चुअली शुभारम्भ गर्दै उनले अस्वस्थ ढंगले चल्ने राजनीतिक दलहरूलाई पराजित गर्ने गरी तयारी गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशनसमेत दिए।
अध्यक्ष ओलीले निकट विगतमा आफ्नो पार्टीलाई एक्ल्याउने शक्ति र प्रवृत्तिहरू अहिले पनि रहेकाले त्यस्ता शक्तिहरुको षड्यन्त्रबारे जनतालाई बुझाउँदै लैजानुपर्ने जरुरी रहेको पनि बताए। अध्यक्ष ओलीले पार्टीको रक्षामा दृढतापूर्वक उभिन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।
पार्टी हितको पक्षमा उभिने नेता, कार्यकर्तालाई पार्टीले पनि हित गर्ने उनको भनाइ छ। ओलीले आगामी ४ वर्षपछि हुने निर्वाचनमा ५० प्रतिशतभन्दा बढी स्थानमा पार्टीलाई विजयी गराउने गरी पार्टीेले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरेको स्पष्ट पारे।
ओलीले एमालेजस्तो पवित्र उद्देश्य भएको पार्टी अरू नरहेको जिकिर गरे।
प्रतिक्रिया