सात संवैधानिक आयोगका अध्यक्षहरूले भेटे प्रधानमन्त्री प्रचण्ड, राखे यी माग

सात संवैधानिक आयोगका अध्यक्षहरूले प्रधानमन्त्रीलाई भेटेर आयोगहरूमा स्रोत, साधन र कर्मचारी दरबन्दी थप गर्न माग गरेका छन्।

बिहीबार सिंहदरबारमा राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारू आयोग र मुस्लिम आयोगका अध्यक्षहरूले संयुक्त रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका हुन्।

भेटमा आयोगका अध्यक्षहरूले आ-आफ्नो आयोगमा भएका समस्याहरू प्रधानमन्त्रीसमक्ष राखेका छन्। भेटपछि न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आफूहरूले आयोगमा स्रोत, साधन र कर्मचारीको दरबन्दी न्यून भएकाले काम गर्न समस्या परेको कुरा प्रधानमन्त्रीसमक्ष राखेको बताए। उनले आयोगहरूमा स्रोत, साधन र कर्मचारीको दरबन्दी थप गर्न माग गरिएको जानकारी दिए।

आयोगका अध्यक्षहरूसँगको भेटमा प्रधानमन्त्री दाहालले संवैधानिक आयोगहरूलाई बलियो बनाउनका लागि सरकारले प्रयास गर्ने प्रतिबद्धता जनाएको मुस्लिम आयोगका अध्यक्ष अन्सारीले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर