इन्जा बौद्धिक अनुसन्धानवृत्ति नेपाल र तिवारीलाई

नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले हरेक वर्ष प्रदान गर्दै आएको बौद्धिक अनुसन्धानवृत्ति पुरस्कार सञ्चार क्षेत्रमा लामो समयदेखि कार्यरत २ जना पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको छ ।

स्वर्गीय शुकदेव शाहको स्मृतिमा स्थापना भएको उक्त बौद्धिक अनुसन्धानवृत्ति पुरस्कार त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चार विषयमा विद्यावारिधी (पीएचडी) गर्दै गरेका जगत नेपाल र पत्रकारिता तथा आमसञ्चार विषयमा त्रिभुवन विश्वविद्यालयबाट दर्शनार्चाय (एमफिल) गर्दै गरेका माधवप्रसाद तिवारीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागका प्रमुख चिरञ्जीवी खनालको संयोजकत्वमा गठित सिफारिस समितिले उक्त निर्णय गरेको हो ।

बौद्धिक अनुसन्धानवृत्तिबाट सम्मानित हुने नेपाल हाल त्रिभुवन विश्वविद्यालयको पत्रकारिता विभागमा उपप्राध्यापकको रूपमा कार्यरत छन् । २०५४ सालबाट पत्रकारिता सुरु गरेका नेपालले सुरुचि साप्ताहिक, नेपालवाणी साप्ताहिक, रेडियो नेपाल, कान्तिपुर टीभी लगायत विभिन्न सञ्चारमाध्यममा नेतृत्वदायी भूमिकामा रहेर काम गरेका थिए । उनले हालसम्म ५ वटा पुस्तक प्रकाशित गरिसकेका छन् ।

त्यसैगरी बौद्धिक अनुसन्धानवृत्तिबाट सम्मानित हुने तिवारीले २०५७ सालबाट पत्रकारिता सुरु गरेका थिए । भित्ते पत्रिकाबाट पत्रकारिता सुरु गरेका तिवारीले रूपरेखा साप्ताहिक, माउन्टेन टीभी, अनलाइन खबर डटकम, ककनी पोष्ट साप्ताहिक, विज एफएम, आजको न्यूज डटकममा काम गरेका छन् र हाल दैनिकी डटकमको सम्पादकको रूपमा कार्यरत छन् ।

उक्त पुरस्कार नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) को स्थापना दिवस मार्च १ अर्थात् फागुन १७ गते प्रदान गरिने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर