अव्यावहारिक नीतिका कारण कृषि उत्पादन घटेको हो : चन्द्र ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारी नीति नियम व्यावहारिक नहुँदा कार्यान्वयनमा समस्या रहेको बताएका छन्।
सोमबारदेखि बुटबलमा सुरु भएको ‘कृषि मेला-२०७९’ लाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले नीति नियम बनाउँदा सम्बन्धित पक्ष वा सरोकारवालासँग छलफल नगरी बनाउने गरेकाले त्यस्ता नीति नियम कार्यान्वयनमा कठिनाइ हुने गरेको बताएका हुन्।
‘हामीले हरेक स्थानीय तहदेखि केन्द्रसम्म कृषिलाई प्राथमिकतामा राख्ने गरेका छौं। सरकारले हरेक वर्ष कृषिलाई प्राथमिकतामा राखेर नीति नियमहरू बनाउँछ। तर, हामी १८ अर्ब रुपैयाँको चामल, ९ अर्ब रुपैयाँको तरकारी आयात गर्छौं। यहीँ उत्पादन हुन सक्ने धेरै वस्तुहरू बाहिरबाट आयात गरेर खान्छौं। यसले के स्पष्ट पार्छ भने यहाँ नीति र कार्यान्वयनमा तालमेल छैन। कृषिमात्र होइन, सबै क्षेत्रमा यही समस्या छ,’ उनले भने।
उनले अहिलेको तरलताको समस्या कोभिड महामारीको समयदेखि सुरु भएको र बिस्तारै सहज हुने बताए। ‘कोभिडको समयमा उद्योग व्यवसाय बन्द भए। विदेशबाट रेमिट्यान्स भित्रिने क्रम पनि कम भयो। आयातमा धेरै पैसा बाहिरियो र यसले गर्दा बैंकमा लगानीयोग्य पुँजीको अभाव भयो। तर, अहिले बिस्तारै सबै कुरा सकारात्मक हुँदैछन्। यसले के भन्न सकिन्छ भने अबको केही समयभित्र अर्थतन्त्र सहज बाटोबाट अगाडि बढ्छ,’ उनले भने।
कुनै एउटा बैंकको सञ्चालक वा बैैंकले मात्र कर्जाको ब्याजदर परिवर्तन गर्न सम्भव नहुने बताउँदै उनले निक्षेपको ब्याजदर बढ्दा कर्जाको ब्याजदर पनि स्वतः बढेको बताए। ‘कोभिड महामारीका कारण विश्व अर्थतन्त्रमै समस्या देखिएको छ। बैंकिङ क्षेत्रमा लामो समयदेखि लगानीयोग्य पुँजीको अभाव रह्यो। दुई तीन प्रतिशतको हाराहारीमा रहेको निक्षेपको ब्याजदर ८/१० प्रतिशतमा पुगेको छ। यसले नै बैंकको लागत बढाई कर्जाको ब्याज बढाएको हो,’ उनले भने।
उनले महासंघकोे तर्फबाट आफूहरूले गरेको निरन्तर पहलस्वरूप नियामक निकाय र अन्य सरोकारवालसम्म कुरा पुगेको र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा केही कुराहरू सम्बोधन गरेको बताए। विदेशबाट अनुदानप्राप्त कृषिजन्य उत्पादन आउँदा यहाँका कृषक समस्यामा रहेको उनले बताए।
‘यसबाट उपभोक्तालाई लाभ भएको छ तर कृषक मर्कामा छन्। यसका लागि केही संरक्षण आवश्यक छ। तर, हामीले आफ्नो उत्पादन पनि प्रतिस्पर्धी बनाउनुपर्छ,’ उनले भने।
उनले नेपाली कृषि क्षेत्रको विकासमा महासंघ हरेक तहका सरकारसँग सहकार्य गर्न तयार रहेको बताए।
प्रतिक्रिया