प्रतिनिधि सभा बैठक संसद् भवनबाहिर पनि गर्न सकिने

संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक संसद् भवनबाहिर पनि गर्न सकिने भएको छ। प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले सभाको भर्चुअल बैठकले पनि वैधानिकता पाउने गरी नियमावलीमा नै स्पष्ट व्यवस्था गरेपछि प्रविधिबाट बैठक सञ्चालनको बाटो खुलेको हो।

मस्यौदा समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले कम्तिमा एक चौथाइ सदस्यको सहमतिमा भर्चुअल बैठक बस्न सकिने प्रावधानसहितको व्यवस्थालाई सर्वसम्मति पारित गरेको हो।

भर्चुअल बैठक अनुमतिको सम्पूर्ण विशेषाधिकार भने सभामुखमा निहीत राखिएको छ। बैठकको कार्यविधि सभामुखले निर्धारण गरेबमोजिम हुने भन्ने व्यवस्था प्रस्तावित नियमावलीमा गरिएको छ। एक चौथाइ सदस्यको सहमति पछि कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखले निर्णय गर्न सक्ने व्यवस्था नियमावलीमा गरिने भएको हो।

कोभिड महामारीको समयमा संसद बैठक बस्न सकेको थिएन। विश्वका कतिपय मुलुकले तत्काल संकटकालीन आवश्यक नियमावली बनाएर संसदको बैठक सञ्चालन गरी महामारी नियन्त्रणका लागि सरकारलाई आवश्यक ऐन नियम बनाएका थिए।

तर, नेपालमा भर्चुअल संसद् बैठक बस्नका लागि नियमावलीमा व्यवस्था नभएका कारण प्रविधिबाट बैठक सञ्चालन भएको थिए । भर्चुअल बसेका समितिका बैठकहरूले पनि वैधानिकता पाएका थिएनन्। नियमावलीमा गर्न लागिएको यो व्यवस्थाले भौतिक रूपमा संसद् बैठकमा उपस्थित हुन नसक्ने स्थितिमा पनि बैठक सञ्चालनको बाटो खुल्ने छ।

नियमावलीले संसद् र मिडियाबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै संसदीय कारबाहीलाई पारदर्शी बनाउने उद्देश्यसाथ लबि रिपोर्टिङको व्यवस्था मिलाउने किसिमको प्रावधान राखिएको छ। मिट द प्रेस भनेर सभाभित्रै एउटा कक्ष बनाउने प्रश्ताव समितिमा उठे पनि भिन्नै कक्ष निर्माण गर्ने कुरा प्रश्तावित नियमावलीमा लेखिएको छैन। तर, ‘सञ्चारकर्मीसँगको भेटघाट र लवि रिपोर्टिङको आवश्यक व्यवस्था मिलाइनेछ’ भन्ने उल्लेख गरिने भएको छ।

यसअघि भौतिक उपस्थिति बिना प्रविधिमार्फत बैठक सञ्चालन र लबि रिपोर्टिङको व्यवस्था नियमावलीमा उल्लेख गरिएको थिएन

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *