
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बस्ने

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बस्ने भएको छ। बिहीबार दिउँसो ३ बजेको लागि बोलाइएको संयन्त्रको बैठक स्थगित भएको थियो ।
संयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल र संयन्त्रका संयोजक तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको थियो। सो भेटवार्तापछि प्रधानमन्त्री कार्यालयबाट बाहिरिने क्रममा प्रधानमन्त्री दाहालले सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार (भोलि) बिहान ९ बजे बैठक बस्ने जानकारी दिए।
सत्तारूढ गठबन्धनको एक घटक राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिइसकेको छ। यद्यपि उसले सरकारको समर्थन भने कायमै राखेको छ। सरकारबाट बाहिरिनुअघि राष्ट्रिय स्वतन्त्र पार्टीले संयन्त्रको बैठक राख्न माग गरेपनि बैठक बस्न सकेको थिएन। रास्वपा सरकारबाट बाहिरिएपछि पहिलोपल्ट बस्न लागेको संयन्त्रको बैठकलाई निकै चासोपूर्वक हेरिएको छ।
प्रतिक्रिया