धितोपत्र बोर्डका अध्यक्ष भन्छन्, ‘वित्तीय गल्ती गरेको प्रमाण ल्याए टुँडिखेलमा झुन्डिन तयार छु’

धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बोर्डमा बसेर आफूले वित्तीय रुपमा कुनै गल्ती नगरेको दाबी गरेका छन्। सोमबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष हमालले बोर्डको अध्यक्ष भएर आएको ११ महिनामा बाहिर बजारमा हल्ला आएजस्तो आफूले वित्तीय रूपमा कुनै गल्ती नगरेको दाबी गरेका हुन्।

उनले आफूले धितोपत्र बोर्डमा सुधारका तत्काल धेरै काम सुरु गरेपछि चौतर्फी आक्रमण गरी चरित्र हत्या गर्न खोजिएको आरोप लगाए। उनले आफूले कुनै पनि वित्तीय रूपमा गल्ती गरेको प्रमाण भए कानूनअनुसार कारबाही हुने बतए। उनले कानूनविपरीत काम गर्नेलाई कारबाही गरेपछि आफूलाई घेराबन्दीमा पारिएको बताए।

उनले आफूले कुनै वित्तीय गल्ती गरेको प्रमाण ल्याएमा टुँडिखेलमा गएर झुन्डिन तयार रहेको बताए। उनले बोर्डले धितोपत्र बजारमा सुधारका धेरै कामहरुको थालनी गरेको दाबी गरे। उनले नागरिकताको सवालमा आफूसँग नेपाल बाहेक अन्य कुनै पनि देशको नागरिकता, स्थायी बसोबास अनुमतिजस्ता कागजात नभएको दाबी गरे।

उनले समयमा नै विवरण नबुझाउने संस्थाहरुलाई तत्काल कारबाही गर्ने बताए। उनले बार्डले जे गरी पनि कुनै कारबाही गर्दैन भने परम्परालाई तोड्दै कारबाही गर्ने थिति अपनाएको बताए। उनले हरेक नीतिहरू आउँदा कोही खुशी त कोही दुखी हुने भन्दै राम्रो काम गर्न नडराउने बताए। उनले लगानीकर्ताको हितको लागि बोर्डले जस्तोसुकै साहसिक निर्णय लिन तयार रहेको बताए।

बोर्डका कार्यकारी निर्देशक नियमन विभाग प्रमुख मुक्तिनाथ श्रेष्ठले नयाँ अध्यक्ष आएको १० महिनामा ३८ वटा संस्थाहरूलाई साधरण शेयर आईपीओ निस्कासन अनुमति पाएको बताए। उनले बोर्डले प्रत्येक महिनाको ४ वटा कम्पनीको दरले आईपीओ निष्कासन अनुमति पाइरहेको बताए।

उनले १० महिनामा यति धेरै काम गर्दा पनि बोर्डले केही काम नगरेको भन्ने गुनासो आइरहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *