पाकिस्तानी दूतावासको ‘काश्मीर एकता दिवस’विरुद्ध हस्ताक्षर संकलन

काठमाडौंमा रहेको पाकिस्तानी दूतावासले काश्मीर एकता दिवस आयोजना गरेको काश्मीर एकता दिवसमा अवरोध सिर्जना भएको छ। न्यून सहभागितमा कार्यक्रम भइरहेका बेला राष्ट्रिय एकता अभियानले यसविरुद्ध हस्ताक्षर संकलन गरी विरोध जनाएको हो।

राष्ट्रिय एकता अभियानले हिन्दूहरूको हत्या बन्द गर, पाकिस्तान प्रायोजित आतंकवाद बन्द गर, पाकिस्तानमा अल्पसंख्यकहरूको सुरक्षा गर र धार्मिक अतिवाद अन्त्य गर भन्ने नाराका साथ हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको हो।

काठमाडौंको गौशालामा अभियानका केन्द्रीय सदस्य डा. प्रभात कुशवाहाको नेतृत्वमा हस्ताक्षर अभियान सुरु भएको हो। हस्ताक्षर अभियानमा पेमा लामा, सरिता सिंह, दीपेन्द्र बराल, रोशन कुशवाहा, दिपेश कुशवाहालगायत अभियान्ताहरू सक्रिय थिए।

पाकिस्तानले काश्मीरमा आतंकवादी गतिविधि गराउनका लागि वित्त पोषण गरिरहेको र अर्कोतर्फ काश्मीर एकताको अभियान चलाउँदै दिवस मनाइरहेको बताइन्छ। पाकिस्तानले दोहोरो चरित्र देखाएको भन्दै हस्ताक्षर अभियान चलाइएको हो।

‘पाकिस्तानमा हिन्दूलगायत अल्पसंख्यक समुदायहरूलाई अतिवादी मुस्लिमहरूले निरन्तर सताउने तथा दुःख दिने गरिरहेका छन्, त्यसैको जानकारी विश्व जगतले पाओस् भनेर हस्ताक्षर अभियान सुरु गरेका हौं,’ अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले भने।

पाकिस्तानमा हिन्दूहरू निकै कम संख्यामा मात्र छन्। बेलायती उपनिवेशबाट सन् १९४७ मा भारत र पाकिस्तान विभाजन हुँदा पाकिस्तानमा १० प्रतिशत हिन्दूहरू थिए। तर, व्यापक धर्मान्तरण र ज्यादतीका कारण अहिले यो मात्रा १ प्रतिशतमा झरेको छ।

हिन्दूहरूमाथि भइरहेको अत्याचार झनै झाँगिएको र यसले पाकिस्तानको सामाजिक सूत्र नै विभक्त भइरहेको जानकार बताउँछन्। अल्पसंख्यक हिन्दू र सो समुदायका महिलाहरूमाथि भइरहेका विभेद तथा अपराधविरुद्ध पाकिस्तानमा न्यायको कुनै गुञ्जायस नै नरहेको बताइन्छ।यद्यपि पाकिस्तान सरकारले विश्वलाई आफ्नो मुलुकमा त्यस्तो कुनै अपराध र ज्यादती नभएको दाबी गरिरहेको छ।

पाकिस्तान अहिले पनि महिला अधिकार र सुरक्षाको दृष्टिकोणले विश्वकै खराब मुलुकमा पर्छ। हिन्दू महिलाहरूमाथि भएको अपराधका केसहरू विभिन्न प्रहरी कार्यालयका दराजमा थन्क्याइएको छ। तर, त्यसलाई पाकिस्तानको सरकार र प्रशासनले नै अघि बढाउनमा हस्तक्षेप गरिरहेको आरोप लाग्ने गरेको छ। यसैकारण पाकिस्तान महिलाहरूका लागि खराब राष्टमध्ये १५० औं स्थानमा छ, जबकि यो तुलना १५३ राष्टहरूभित्र मात्रै भएको हो।

पाकिस्तानमा हिन्दूहरूमाथि जे भइरहेको छ, त्यसले विश्वलाई अतिशय पीडा दिइरहेको र विह्वल बनाइरहेको जानकारहरूको भनाइ छ। पाकिस्तानी हिन्दूका परिवारहरूले आफ्ना छोरीचेली गुमाइरहेका, अपहरण गरिएका किशोरीहरूलाई जबर्जस्ती मुस्लिमहरूले विवाह गर्ने गरेका र यौन बजारमा बेच्ने गरेका घटनाहरू सार्वजनिक भइरहेका छन्।

पाकिस्तानका हिन्दूहरू गरिब छन् र उनीहरू सुरक्षित रूपमा भारत आउन पनि सक्दैनन्। यसैकारण अधिकांश हिन्दूका बालबच्चाहरू विद्यालय जान समेत पाएका छैनन्। कारण, त्यहाँ डर छ कि उनीहरू जतिसुकै बेला प्रताडित हुन सक्छन्।

केही मध्यमवर्गीय हिन्दूहरूको जीवन त सहज देखिन्छ, तर सामाजिक विभेदले यतिसम्म जरा गाडेको छ कि त्यहाँ समान अधिकारप्राप्ति र उपभोगको कुनै आधार छैन। हिन्दू अल्पसंख्यकमाथि बढिरहेको अत्याचारको आँकडा नै यो विषयलाई बुझ्न पर्याप्त रहेको बताइन्छ।

हरेक वर्ष करिब ५००० हिन्दूहरू पाकिस्तान छाडिरहेका छन् र भारतमा निर्वासित जीवन बिताइरहेका छन्। उनीहरू पाकिस्तानले गरिरहेको अत्याचार सहनै नसक्ने अवस्था पुगेपछि भारत आउने गर्छन्। यसैका कारण दिल्लीमा पाकिस्तानी हिन्दूहरूको शरणार्थी शिविर बढिरहेको छ, जहाँ भारत सरकारले पीडितहरूका लागि आधारभूत आवश्यकताहरू उपलब्ध गराइरहेको छ।

भारत आइसकेका हिन्दूहरू अझै पनि कानूनी रूपमा पाकिस्तानमै छन्, किनकि रेकर्डबाट उनीहरूको संख्या पाकिस्तान सरकारले हटाएको छैन। पाकिस्तानले यसो गरेर सबै हिन्दूहरू पाकिस्तानमै रहेको देखाउन चाहेको आरोप लाग्ने गर्छ। हिन्दूहरूले देश छाड्नुको एउटै कारण पाकिस्तान सरकारले सिर्जना गरेको दबाब र बलजफ्तीपूर्ण अवस्था नै रहेको बताइन्छ।

हरेक पटक पाकिस्तानी प्रधानमन्त्रीहरू दाबी गर्छन् कि उनीहरूको झण्डामा भएको सेतो रङले अल्पसंख्यक हिन्दूहरूको प्रतिनिधित्व गर्छ। तर, त्यसो हुन नसकिरहेको र त्यो केवल प्रोपोगाण्डा मात्रै रहेको अभियन्ताहरूको भनाइ छ।

‘भारतविरोधी कुनै आतंकवादी आफ्नो भूमिमा नरहेको दाबी गरेजस्तै पाकिस्तानले यो पनि अस्वीकार गरिरहेको छ कि त्यहाँ कुनै जबर्जस्ती छैन र अल्पसंख्यकहरूको मानवअधिकार पूरै सुरक्षित छ। तर, यस्तो पाकिस्तानी दाबी सरासर झुटको पुलिन्दा सिवाय अरू केही होइन। पाकिस्तानी सरकारी अधिकारीहरू विश्वलाई ढाँट्न निकै अभ्यस्त छँदैछन्। तर जतिपटक दोहो¥याए पनि झुठ सत्यमा बदलिन सक्दैन,’ एक अभियन्ताले भने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *