राष्ट्रिय महिला भलिबल : एपीएफ र न्यू डायमण्ड फाइनलमा

विभागीय टोली एपीएफ र न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब काठमाडौंमा जारी छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार भएको खेलमाएपीएफले त्रिभुवन आर्मी क्लबलाई र न्यू डायमण्डले नेपाल पुलिस क्लबको चुनौती समाप्त गर्दै फाइनल पुगेका हुन्। ​एपीएफले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आजै भएको खेलमा विभागीय नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै न्यू डायमण्ड लिग चरणको एक खेल खेल्नुअघि नै फाइनलमा प्रवेश गरेको हो।

पहिलो सेट २२–२५ ले गुमाएको न्यू डायमण्डले त्यसपछिका सेटमा उत्कृष्ट पुनरागमन गर्दै १५–२५, २२–२५ र १९–२५ को जित निकाल्यो। प्लेयर अफ दि म्याच घोषित न्यू डायमण्डकी स्पाइकर प्रतिभा मालीले १० हजार रूपैयाँ र ट्रफी हात पारिन्।

आजै भएको पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले लगातार दोस्रो जित पायो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा एपीएफले आर्मीलाई २५–१७, २५–२१ र २५–१५ को सोझो सेटमा हरायो। एपीएफले पनि एक खेल बाँकी छँदै फाइनलमा स्थान बनाउन सफल भएको हो।

प्लेअर अफ दि म्याच घोषित एपीएफकी निरुता ठगुन्नाले नगद १० हजार रूपैयाँसँगै ट्रफी हात पारिन्। आजको हारसँगै आर्मीले लगातार दोस्रो हार बेहोरेको छ।

जितसँगै डायमण्डको २ खेलबाट ६ अंक पुगेको छ। पुलिसले २ खेलबाट अंकको खाता खोल्न सकेको छैन। एपीएफको पनि ६ अंक छ। पुलिस र आर्मीले २ खेल सकिँदासम्म तालिकामा कुनै अंक जोड्न सकेका छैनन्।

प्रतियोगिताअन्तर्गत आइतबार नै भएको पहिलो खेलमा एपीएफले आर्मीलाई सोझो सेटमा स्तब्ध बनायो। पहिलो सेट २५–१७ ले जितेको एपीएफले दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पारेको थियो।

प्रतियोगितामा सोमबार लिग चरणको अन्तिम खेल हुनेछन्। पहिलो खेलमा एपीएफ र डायमण्ड तथा दोस्रो खेलमा पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुनेछ। यी खेलबाट तालिकामा शीर्ष चार टोलीको टुंगाे लाग्नेछ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *