शहरी विकासमन्त्री पाण्डेको अभिव्यक्तिप्रति रघुजी पन्तको आपत्ति
सत्तारूढ नेकपा (एमाले)का सांसद एवं पूर्वमन्त्री रघुजी पन्तले संघीयताविरोधी अभिव्यक्ति दिएको भन्दै शहरी विकासमन्त्री विक्रम पाण्डेको आलोचना गरेका छन्।
संविधान र कानूनविपरित प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनलाई समेत अवज्ञा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतासमेत रहेका मन्त्री पाण्डेले गृहजिल्ला चितवनमा पुगेर संघीयताविरोधी अभिव्यक्ति दिएको भन्दै उनले आपत्ति जनाएका हुन्।
बुधबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले संविधान र कानूनको परिधिभित्र रहेर मन्त्रीहरू चल्नुपर्नेमा त्यसविपरीत जानु मुलुकको लागि हितकर नभएको बताए। उनले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री र वरिष्ठ मन्त्रीहरूलाई डेढ घण्टासम्म भए पनि उपस्थित हुने व्यवस्था गर्न सभामुख देवराज घिमिरेको पनि ध्यानाकर्षण गराए।
सांसद पन्तले संसद्को गरिमालाई उँचो राख्न पनि प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री र वरिष्ठ मन्त्रीहरूले केही समय दिनुपर्ने तर्क गरे।
प्रतिक्रिया