
आर्थिक समृद्धि हासिल गर्न राष्ट्रिय सहमति जरुरी : रामचन्द्र पौडेल


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषि, पर्यटन र जलस्रोतको विकासले मात्र मुलुक समृद्ध बन्ने बताएका छन्।
शहीद दिवसका अवसरमा तनहुँको व्यास नगरपालिकाद्वारा आज आयोजित ‘अल्ट्रा म्याराथन’को शुभारम्भ गर्दै उनले आर्थिक समृद्धि हासिल गर्न राष्ट्रिय सहमति कायम गरेर अगाडि बढ्नुपर्ने बताए।
‘राष्ट्रको उन्नति र समृद्धिका लागि राष्ट्रिय एकताको खाँचो छ,’ वरिष्ठ नेता पौडेलले भने, ‘राष्ट्रिय एकताको कुरा गर्दा कसैलाई मेरो भाग खोसिन लाग्यो कि भन्ने लागेको छ तर त्यस्तो होइन।’
गाउँका जनतालाई गाउँमै रोजगारी र आम्दानी सिर्जना गर्नुपर्ने जनाउँदै वरिष्ठ नेता पौडेलले पर्यटन प्रवर्द्धनबाट त्यो सम्भव रहेको बताए।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठ र जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले म्याराथनले दुई ऐतिहासिक गाउँ जोड्ने प्रयास गरेको बताए।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखिएको बताए। व्यास नगरपालिका–५ मानुङदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्म ४४ किमि दूरीको म्याराथनमा ५७ धावकको सहभागिता रहेको छ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद ६१ हजार, द्वितीय हुनेलाई ५१ हजार, तृतीय हुनेलाई ३८ हजार र सान्त्वना हुने तीन जनालाई जनही १२ हजार पाँच सय रुपैयाँ प्रदान गरिनेछ।
म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैंचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर समाप्त हुनेछ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया