आगामी अंग्रेजी नयाँ वर्षमा पाइपलाइनमार्फत पेट्रोल ल्याउन भर्टिकल ट्यांकहरूको निर्माण सुरु

नेपाल आयल निगमले आगामी अंग्रेजी नयाँ वर्षमा पाइपलाइनमार्फत पेट्रोल ल्याउने गरी दोस्रो चरणको पाइपलाइन परियोजनाअन्तर्गत भर्टिकल ट्यांकहरूको निर्माण सुरु गरेको छ।

निगमको मधेस प्रादेशिक कार्यालयअन्तर्गत बाराको अमलेखगञ्जस्थित डिपोमा पेट्रोल र ट्रान्समिक्स ट्यांकको गत मंसिर २९ गते शिलान्यास गरी निर्माण कार्य सुरु भएको थियो। निगमले मोतीहारी-अमलेखगञ्ज पाइपलाइनमार्फत २०७६ भदौदेखि डिजेल आयात गरिरहेको छ। मोतीहारी-अमलेखगञ्ज पाइपलाइन परियोजना डिजेल र पेट्रोल दुवै ल्याउने भए पनि पेट्रोल भण्डार गर्न ट्यांकी नहुँदा डिजेल मात्रै आयात भइरहको थियो।

बिहीबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा अमलेखगञ्ज डिपोका प्रमुख प्रदीपकुमार यादवले अंग्रेजी नयाँ वर्षमा पाइपलाइनमार्फत पेट्रोल ल्याउने गरी भर्टिकल ट्यांकहरूको निर्माणमा आवश्यक सबै तयारी पूरा गरी निर्माण कार्यको सुरुवात गरिएको बताए। उनले दोस्रो चरणको योजना निर्माणका लागि नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनले संयुक्त रूपमा लगानी गर्ने गरी सम्झौता भएर काम अगाडि बढेको बताए।

उनले दुईवटा पेट्रोल ट्यांकमध्ये निगम र आईओसीले १/१ वटा ट्यांकको लागत व्यहोर्ने जानकारी दिए। प्रमुख यादवले पेट्रोल र डिजेल दुवै हुनसक्ने मिश्रित इन्धन राख्नका लागि २ वटा ट्रान्समिक्स ट्यांक र डिपोभित्रको सुरक्षाका लागि ३ हजार किलोलिटर क्षमताको फायरवाटर ट्यांक भारतीय पक्षले निर्माण गरिदिने बताए।

उनले निगमले करिब ७५ करोड भारतीय रुपैयाँ खर्च गर्ने अनुमान गरिएको बताए। उनले निगमले एउटा पेट्रोल ट्यांक, २४ वटा रिफिलर, प्रयोगशाला, फायरफाइटिङ सिस्टम, ओडब्ल्यूएस र पीएमसीसी कक्षको निर्माण गर्ने बताए।

उनले निगमको १ अर्ब ५४ करोड भारतीय रुपैयाँ बराबरको खर्च हुने अनुमान गरिएको बताए। उनले भारतबाट डिजेल र पेट्रोल दुवै पाइपलाइनमार्फत आयात गर्दा ढुवानी र टेक्निकल खर्चमा मासिक रूपमा निगमलाई १५ करोड रुपैयाँ बचत हुने बताए।

उनले अहिले डिजेल मात्रै पाइपलाइनमार्फत आयात गर्दा ढुवानी भाडा र टेक्निकल खर्चमा वार्षिक रूपमा करिब २ अर्ब रुपैयाँ बचत भएको बताए। उनले दोस्रो चरणको भर्टिकल ट्यांकहरू निर्माण कार्य आगामी डिसेम्बरसम्म सम्पन्न गरेर अंग्रेजी नयाँ वर्षमा पेट्रोल पाइपलाइनमार्फत आयात गरिने बताए।

प्रमुख यादवले दोस्रो चरणमा ४ हजार १ सय किलोलिटर क्षमताका २ वटा पेट्रोल ट्यांक, २५० किलोलिटर क्षमताका २ वटा ट्रान्समिक्स ट्यांक, पेट्रोलको लोडिङका लागि २४ वटा पूर्ण स्वचालित लोडिङ वे (रिफिलर), पम्प हाउस र प्रयोगशालाको निर्माण हुने बताए। उनले फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्याउने ओडब्ल्यूएस सिस्टम तथा पीएमसीसी कक्ष निर्माणसमेत हुने बताए।

उनले आयोजना निर्माण सम्पन्न भएपछि पेट्रोल, डिजेल र मट्टितेल गरी तीनवटै पदार्थको आयात पाइपलाइनबाटै हुने बताए। उनले अमलेखगञ्जदेखि बरौनीसम्म आयातका लागि प्रयोग हुँदै आएको ट्यांकरको संख्या शून्य हुने बताए। उनले यसबाट प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाडा बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्नसमेत सहयोग पुग्ने बताए।

उनले तीनवटै पदार्थको आयात पाइपलाइनबाटै हुँदा अर्बौं रुपैयाँ बचत हुने अनुमान रहेको बताए। उनले तीनवटै पदार्थको आयात पाइपलाइनबाटै हुँदा ७ सय ट्यांकर आवाजावत हुने बताए।

उनले दोस्रो चरणको निर्माण कार्य सम्पन्न हुँदा अमलेखगञ्जको सम्पूर्ण काम अटोमेटिक रूपमा हुने बताए। उनले पाइपलाइनको ४२ प्रतिशत प्रयोग भएपनि दोस्रो चरणको निर्माण कार्य सम्पन्न हुँदा पूर्ण रूपमा प्रयोग हुने बताए।

निगमले एउटै पाइपलाइनबाट पेट्रोल र मट्टितेलसमेत आयात गर्न सम्भव भए पनि भण्डारण गर्ने क्षमता नहुँदा तीन वर्षसम्म ट्यांकरबाटै पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यता थियो। उक्त परियोजनाको लिखिता इन्फास्ट्रक्चर प्रालिले एक वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी सबै पूर्वाधार निर्माणको ठेक्का लिएको छ। यो आयोजना निर्माण सम्पन्न भएसँगै अमलेखगञ्ज डिपोमा डिजेलको भण्डारण क्षमता २४ हजार ८४० किलोलिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार ६३० किलोलिटर पुग्नेछ।

९० दिनको इन्धन भण्डारण गर्ने सरकारको नीति अनुसार थप ५/५ हजार किलोलिटर क्षमताको ट्यांक निर्माणको तयारीसमेत सुरु गरिएको छ। सम्पन्न भएपश्चात् मात्रै ५ दिनको माग धान्न सक्ने डिजेल र ७ दिनको माग धान्न सक्ने पेट्रोलको भण्डारणको क्षमता पुग्ने भएको छ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *