क्यान अध्यक्षको स्वीकारोक्ति, ‘टी-२० लिगकाे सम्झौतामा त्रुटि भयो’
साधारण सभाबाट पारित भई आयोजना भएको नेपाली टी–२० लिगको सम्झौता त्रुटिपूर्ण रहेको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन्। बिहीबार क्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष चन्दले भारतीय कम्पनीसँगको सम्झौता त्रुटिपूर्ण रहेको बताएका हुन्।
चन्दले नेपाल टी–२० लिगका क्रममा लागि विवादस्पद कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गर्नु गल्ती भएको स्वीकार गरे। तर, क्यानले कुनै गलत नियत राखेर सम्झौता नगरेको स्पष्टोक्तिसमेत उनले दिए। अध्यक्ष चन्दले क्यानले पहिलो प्रयास गर्ने क्रममा केही कमीकमजोरी भएको र साझेदार पार्टनरसँग सम्झौताअनुरूप काम नहुनु दुखद् भएको बताए।
सम्झौताअनुसार काम अघि बढाउन सेभेन थ्री स्पोर्ट्सलाई दबाब दिन नसक्नु क्यानको कमजोरी भएको पनि स्वीकार गरे।सेभेन थ्री स्पोर्ट्सलाई दबाब दिन नसकेकै कारण श्रम स्वीकृति ढिला भएको र लिगको दौरानमा विभिन्न कारण विवाद हुनु क्रिकेट संघको पनि कामजोरी रहेको बताए।
अध्यक्ष चन्दले नेपाल टी–२० लिगमा सहभागी पाँच फ्रेन्चाइज टोलीका खेलाडीले पैसा पाइसकेको र एक टोलीका खेलाडीले एक/दुई महिनाभित्र नै पाउने जानकारी दिए। उनले खेलाडीको सबै रकम चुक्ता गरिसकेको र केही खेलाडीको भुक्तानी छिटै पूरा हुने पनि बताए।
यस्तै पुरस्कारको रकम सेभेन थ्री स्पोर्ट्सले दिने सम्झौता भएको र नदिएको अवस्थामा अन्तर्राष्ट्रियस्तरबाट लिन पहल गर्नेसमेत बताए। प्रतियोगिताको दौरानमा अध्यक्ष चन्दले स्पट फिक्सिङमा क्यानका कुनै पनि पदाधिकारीको संलग्न भए कारबाही भोग्न तयार रहेको बताए।
उनले टी–२० लिगमा भएको प्रतियोगितामा स्पट फिक्सिङ भएको नेपाल प्रहरीको अनुसन्धानले देखाएकोमा पुष्टि भए क्यानले नै कारबाही गर्ने बताए। नेपाली क्रिकेटर आदिल आलम र पूर्वक्रिकेटर महबुब आलम स्पट फिक्सिङको आरोपमा पक्राउ परिसकेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरूसहित १० जनाविरुद्ध मुद्दा अगाडि बढाएको छ।
यसैगरी चन्दले नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने टोलीमा फर्किने विषयमा नेपालको विद्यमान कानूनले जे अनुमति दिन्छ त्यहीअनुसार अघि बढ्ने बताए। अध्यक्ष चन्दले आईसीसीसँग सन्दीपको बारेमा छलफल भएको र नेपालको विद्यमान कानूनअनुसार अगाडि बढ्न सुुझाव दिएको बताए।
सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो। बलात्कारको आरोप लागेपछि क्यानले सन्दीपलाई निलम्बन गरेको थियो। सन्दीप गत असोज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।
सन्दीप उच्च अदालत पाटनको आदेशपछि २० लाख रुपैयाँ धरौटी बुझाएर पुस २९ मा रिहा भएका थिए। थुनामुक्त भए पनि सन्दीप क्रिकेटमा फर्कने नफर्कने टुंगो लागेको छैन। उनीविरुद्धको मुद्दा अझै विचाराधीन छ। यद्यपि सन्दीपले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा अभ्यास गर्न थालेका छन्।
प्रतिक्रिया