आत्मदाह प्रकरण : सस्तो लोकप्रियताका स्टन्ट बन्द गर्न आन्दोलनकारीको चेतावनी

मंगलबार संघीय संसद् भवन अगाडि आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका प्रेमप्रसाद आचार्यले उठाएका मागहरूको सम्बोधन गर्न माग गर्दै आज पनि शान्तिपूर्ण विरोध भएको छ। माइतीघर मण्डलामा आज पनि मृतक आचार्यले उठाएका मागहरू पूरा गर्न सरकारलाई दबाब दिँदै युवाहरूले शान्तिपूर्ण विरोध गरेका हुन्। उनीहरूले सरकारले औपचारिकता मात्रै पूरा गर्ने गरेको र मृतक आचार्यका मागहरू छानबिन गर्ने भनेर औपचारिकता पूरा गर्न मात्रै सरकार लागिपरेको भन्दै त्यसको विरोध जनाएका छन्।

प्रदर्शनमा उपस्थित प्रदर्शनकारीहरूले मृतक प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नुपर्ने स्थिति कसरी सिर्जना भयो र त्यो अवस्थामा कसले पुर्‍यायो भन्नेबारेमा सरकार गम्भीर नबनेको आरोप लगाए। आत्मदाह गरेका आचार्यका परिवारलाई भेटेर सरकारले घटना थामथुम पार्ने प्रयास गरिरहेको आन्दोलनकारीको आरोप छ। उनीहरूले मृतक आचार्यलाई आत्मदाह गर्न बाध्य बनाउने दोषीहरूलाई कारबाही हुनुपर्ने माग राखेका छन्। आन्दोलनकारीहरूले संघ र प्रदेशमा गरी ८ जना भन्दा धेरै मन्त्री एउटै पदमा रहँदासमेत जनताका समस्या समाधान गर्न नसके मन्त्री भएर बस्नुको कुनै औचित्य नरहेको र संघीयताको लाभ जनताले लिन नसकेको बताए।

उनीहरूले जर्किन र बोतलमा पेट्रोल बेच्न नपाउने निर्णय गरेर सरकार गम्भीर बन्न नसकेको भन्दै गाउँमा ट्याक्टर चलाएर खाने किसानहरूलाई झनै समस्या पैदा गरेको बताए। उनीहरूले सरकारले हचुवाको भरमा निर्णय गरेर घटनालाई ख्यालख्यालमा लिई घटना लुकाउने प्रयास गरिरहेको आरोप लगाए। सस्तो लोकप्रियताका स्टन्ट सरकारले अब बन्द गर्नुपर्ने चेतावनी दिँदै प्रदर्शनकारीहरूले सरकारले शान्तिपूर्ण आग्रह नसुने आगामी आन्दोलनका कार्यक्रमहरू फरक हुने बताए। उनीहरूले मृतक आचार्यले उठाएका मागहरू जायज रहेको र सरकारले औपचरिकता पूरा गर्ने नभई मृतकले उठाएका मागहरूको उचित सम्बोधन गर्नुपर्ने बताए।

प्रदर्शनकारीहरूले ‘उद्यमशील नेपाल, नारा मात्र हो सरकार?’, गरिखाने कि मरिजाने?’, ‘भिसा देऊ सरकार, खाडी जान्छु’, दलालहरू होयिार!’, ‘देशमै गरिखाने वातावरण बनाइदेऊ सरकार’ लगायतका नारा लगाएर सरकारको विरोध गरेका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर