
कांग्रेसले देशको बारेमा चर्चा र चिन्ता गर्न कहिल्यै आवश्यक ठानेन : ओली


सत्तारूढ नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले सरकारमा हुनुपर्छ भन्ने मान्यता मात्रै राख्ने गरेको आरोप लगाएका छन्। नेपाली कांग्रेसले देशको बारेमा चर्चा र चिन्ता गर्नु कहिल्यै पनि आवश्यक नठानेको उनको भनाइ छ।
बुधबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टी स्कुल विभागद्वारा आयोजित विशेष अनुशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपाली कांग्रेसले आफू सरकारमा सहभागी भए भइगो नि भन्ने एउटा मात्रै सूत्र लिएर हिँडने गरेको आरोप लगाए। कांग्रेसले भन्ने गरेको लोकतन्त्र र विकास भनेको आफ्नो विकास मात्रै भएको उनले बताए।
अध्यक्ष ओलीले एमाले दलबल गरेर बाँडीचुडी खाने पार्टी नभएको पनि बताए। उनले ‘समृद्ध नेपाल : सुःखी नेपाली’ आफ्नो पार्टीको गन्तव्य भएको उल्लेख गर्दै त्यसलाई सफल पार्न केन्द्रित हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
अध्यक्ष ओलीले केही पार्टीहरू सामाजिक असन्तुष्टिलाई उपयोग गर्न आएको भन्दै उनीहरूको राजनीति टिकाउ नहुने धारणा राखे।
अध्यक्ष ओलीले सत्यसँग नडग्न र जालझेलको राजनीति नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।
प्रतिक्रिया