
ओलीको प्रश्न- सरकारमा नहुनेको ध्यान ढाल्नेमा हुन्छ, देशतिर कसले ध्यान दिने?

सत्तारूढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्ने प्रयास भइरहेको बताएका छन्। अध्यक्ष ओलीले कांग्रेसप्रति संकेत गर्दै सरकारमा नहुनेको ध्यान सरकार ढाल्नेतर्फ गइरहेको बताएका हुन्।
बुधबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाँचौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले सरकार ढाल्ने र टिकाउने खेलभन्दा माथि उठेर देशको हितका लागि ‘डेमोक्रेटिक एक्सरसाइज’ गर्न पनि सबै राजनीतिक दलहरूलाई आग्रह गरे।
अध्यक्ष ओली भने, ‘अब सरकारको पनि ध्यान कता जाओस् कता नजाओस्, सरकारमा हुनेको ध्यान टिक्नेमा हुन्छ, सरकारमा नहुनेको ध्यान ढाल्नेमा हुन्छ। देशतिर कसले ध्यान दिने? यो खालको अवस्थाबाट चाहिँ हामीहरू अलि माथि उठेर साँच्चैको एउटा डेमोक्रेटिक एक्सरसाइज गर्ने र स्वस्थ तरिकाले चल्ने हो भने समाजलाई मद्दत पुर्याउन सकिन्छ।’
अध्यक्ष ओलीले मुलुकको राजनीतिलाई ठीक बाटोमा अघि बढाउन आफूहरूले कोसिस गरिरहेको दाबी गरे। उनले नेपालको राजनीतिक क्षेत्रले पनि आयुर्वेदको महत्त्व बुझ्न चाहेको पनि बताए।
अध्यक्ष ओलीले योगसहितको आयुर्वेदलाई स्वास्थ्य अभियानकै रूपमा अघि बढाउने सके मुलुकको स्वास्थ्य क्षेत्रमा ठूलो प्रगति हुने पनि बताए। त्यसका लागि सरकारलाई आवश्यक ध्यान दिन आफूले पनि सुझाव दिने उनको आश्वासन थियो।
प्रतिक्रिया