गण्डकीका नवनियुक्त मन्त्रीहरूले सम्हाले कार्यभार
गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयमा पदबहाली गरेका छन्। मुख्यमन्त्री खगराज अधिकारीले मंगलबार साँझ तीन मन्त्री थप गरी मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए। यसअघि नियुक्त मन्त्रीहरूको कार्यविभाजन तोकिएपछि आज बिहान मन्त्रीहरूले पदभार ग्रहण गरेका हुन्।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमान, आर्थिक मामिलामन्त्री सीताकुमारी सुन्दास, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जाली र आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा मगरले बिहान पदबहाली गरेका हुन्।
यसैगरी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङ र कृषि तथा जलस्रोतमन्त्री बेदबहादुर गुरुङले भने मंगलबार साँझ नै पदबहाली गरेका थिए। पदभार ग्रहण गर्दै भौतिक पूर्वाधार विकासमन्त्री चुमानले प्रदेश सरकारको गौरवका आयोजनाका रूपमा रहेको तनहुँको बन्दीपुर र देवघाट गाउँपालिकाको सिमाना सेती नदीमा बन्ने एक सय १५ मिटर लामो पक्की पुल निर्माणका लागि संक्षिप्त वातावरणीय प्रभावको अध्ययन प्रतिवेदन स्वीकृतिका लागि पेस भएको टिप्पणी सदर गरे।
सो क्रममा उनले संघीयताको कार्यान्वयनमा लाग्न र सबै खालका प्रयासमा साथ दिन आग्रह गरे। उनले भने, ‘अहिलेको कार्यभार सङ्घीयताको पूर्ण कार्यान्वयन गरी जनतामा सकारात्मक भाव पैदा गर्ने गरी काम गर्नु हो। सेवा प्रवाहलाई सहज बनाउँदै जनताको छिटो सम्पन्न गर्ने गरी लाग्न विशेष आग्रह गर्दछु।’
अन्य मन्त्रीहरूले समेत पदबहालीसँगै मन्त्रालयसँग सम्बन्धित निर्णय सदर गरेका छन्। गण्डकी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सात मन्त्रालयले बनाइएको छ। यसअघि १२ मन्त्रालय रहेकामा व्ययभार कम गर्न त्यसलाई घटाइएको मुख्यमन्त्री अधिकारीले बताए। गण्डकी प्रदेशमा सरकारले पूर्णता प्राप्त गर्दा सरकारको नेतृत्व गरेको नेकपा(एमाले)ले मुख्यमन्त्रीसहित चार मन्त्रालय, माओवादी केन्द्रले दुई र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक मन्त्रालय लिएका छन्।
गत पुस २५ गते गण्डकीको मुख्यमन्त्री नियुक्त भएका अधिकारीले सुरुमा चार सदस्सीय मन्त्रिमण्डल गठन गरे पनि कार्यविभाजन गरेका थिए। अधिकारी नेकपा(एमाले)का २२, माओवादी केन्द्रका आठ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र स्वतन्त्र एक गरी ३३ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले संसद्मा विश्वासको मत समेत लिइसकेका छन्। गण्डकीमा एमालेले मुख्यमन्त्री र माओवादी केन्द्रले सभामुख लिने गरी केन्द्रबाटनै पद बाँडफाँट गरिएको थियो। सभामुखमा माओवादीका कृष्णप्रसाद धिताल निर्वाचित भइसकेका छन्।
प्रतिक्रिया