हत्या गरिएका युवाको परिवारसँग ५० लाख फिरौती मागेका थिए अपहरणकारीले
जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ। १३ दिन अगाडिदेखि सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नं ८ का २१ वर्षका रोहित साह र वडा नं. १३ का २२ वर्षका विष्णु साहको हत्या भएको हो। मृतकहरू साथीसाथी हुन्।
रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो नातेदारको घर गएका थिए। गत सोमबारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरबाट फोन आइरहेको र अपहरणकारीले विष्णुसँग कुरा नगराए पनि उनको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेका आफन्तहरूले बताएका छन्। अपहरणकारीले विष्णुका परिवारलाई फोन गरेर सुरुमा २० लाख मागेका थिए। २० लाख दिन राजी भएपछि अपहरणकारीले ५० लाखको माग गरेको विष्णुका हजुरबुबा रामकिशोर साहले बताए।
अपहरणकारीले २० लाखसहित सर्लाहीको मलंगवा नाकामा बोलाएका र विष्णुका परिवारले प्रहरीलाई जानकारी गराएपछि मंगलबारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेको उनले बताए। भारतीय प्रहरीले भारतको सोही क्षेत्रमा दुई शव भेटेपछि आइतबार बिहान मृतक युवाका आफन्तलाई खबर गरिएपछि परिवार शोकमा डुबेको छ। विष्णु र रोहित परिवारको एक्ला छोरा थिए। क्याम्पस पढ्दै गरेका विष्णुका श्रीमती र एक छोरी छन्। मृतक दुवै जनाको परिवार यसअघि वडा नं. १३ मै एकै ठाँउ बस्दै आएको भए पनि अंशबन्डापछि अलगअलग भएका थिए।
शव अहिले भारतको बेला परिहार पर्सास्थित प्रहरी चौकीमा राखिएको र नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको छ। मृतकका परिवारसँगै शव पहिचानका लागि घटनास्थलमा पुगेका मृतकका छिमेकीहरूले मृतकका परिवारजनले शव चिनेको र नेपाल ल्याउने तयारी भइरहेको जनाएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले पनि भारतमा भेटिएको शव तिनै दुई युवाहरूको रहेको बताएका छन्।
प्रतिक्रिया