
मुलुकमा कुनै पनि प्रकारको सैन्य गतिविधि हुन दिइन्न : ओली


सत्तारूढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा कुनै पनि प्रकारको सैन्य गतिविधि हुन नदिने बताएका छन्। राष्ट्रको अहित हुने, मुलुकको सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रतामाथि नै अतिक्रमण हुने भएकाले कुनै पनि प्रकारको सैन्य गतिविधि मुलुकमा हुन दिन नहुने उनको भनाइ छ।
नेकपा (एमाले) परराष्ट्र मामिला विभागले शुक्रबारबाट काठमाडौंमा सुरु गरेको दुई दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले दुई छिमेकी मुलुक भारत र चीनसँग पनि असल छिमेकीको सम्बन्ध कायम राख्न चाहेको बताए। अध्यक्ष ओलीले आफ्नो पार्टीले पारस्पारिक लाभ र पारस्पारिक सम्मानको आधारमा परराष्ट्र सम्बन्धलाई सुदृढ बनाउने चाहेको बताए।
अध्यक्ष ओलीले व्यापारलाई सन्तुलनतर्फ ल्याउनका लागि बाह्य लगानी भित्र्याउनुपर्ने भएकाले सोहीअनुसारको परराष्ट्र नीति लिनुपर्ने समेत बताए। रोजगारी प्रवर्द्धन गर्ने, उत्पादन वृद्धि गर्ने, उत्पादकत्व वृद्धि गर्ने जस्ता कुराहरूका लागि बाह्य लगानी बढाउन नेपालले ध्यान दिनुपर्ने उनको भनाइ थियो। अध्यक्ष ओलीले सीमा समस्यालगायतका समस्याहरू समाधान हुनेगरी परराष्ट्र नीति सञ्चालन गर्न लाग्नुपर्ने आवश्यकता औंल्याए।
अध्यक्ष ओलीले मुलुकमा विकासलाई तीव्रता दिएर अघि बढ्न सहज हुनेगरी परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने बताए।
प्रतिक्रिया