
विश्वप्रकाशलाई ओलीको जवाफ- सरकारलाई थितिमा बाँध्ने कुरालाई पिँजडा देख्नु अशुभ संकेत

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीले उम्मेदवारी दिने उल्लेख गर्दै त्यसैमा राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन्।
अध्यक्ष ओलीले सत्तारूढ दलहरूबीच आफ्नो पार्टीबाट राष्ट्रपतिको उम्मेदवार उठाउने सहमति भएको समेत स्पष्ट पारे।
सभामुखमा देवराज घिमिरे निर्वाचित भएलगत्तै संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले आफ्नो पार्टीले उठाउने राष्ट्रपतिको उम्मेदवारबारे भने पछि भन्ने प्रतिक्रिया दिए।
अध्यक्ष ओलीले भने, ‘एकदमै राष्ट्रिय सहमति हुनुपर्छ राष्ट्रपतिमा। नेकपा एमालेले उम्मेदवार उठाउँछ। हाम्रो सहमति त्यही हो। यसमा राष्ट्रिय सहमति हुनुपर्छ। एमालेको राष्ट्रपतिको उम्मेदवारबारे पछि भनौंला।’
ओलीले सरकारलाई थितिमा बाँध्ने कुरालाई पिँजडा देख्नु अशुभको संकेत भएको बताए। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनेर ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पिँजडाभित्र राख्न खोजेको टिप्पणी गरेका थिए। शर्माको सो अभिव्यक्तिलाई ओलीले अशुभको संकेतको रूपमा रहेको बताए।
ओलीले यसअघिको गठबन्धन सरकारले रामचन्द्र पौडेल नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर अभ्यास गरेकाले त्यसलाई निरन्तरता दिने क्रममा आफू पनि संयन्त्रको संयोजक हुन पुगेको समेत बताए।
प्रतिक्रिया