महिला राष्ट्रिय क्रिकेट : लुम्बिनीलाई हराउँदै मधेस प्रदेश सेमिफाइनलमा

लुम्बिनी प्रदेशमाथि १६ रनको रोमाञ्चक जित निकाल्दै मधेस प्रदेश इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिेकट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।

इटहरीको जनता पार्कमा सम्पन्न बुधबारको पहिलो खेलबाट सुखद् नतिजा निकाल्दै मधेस प्रदेशले अन्तिम चारमा स्थान बनाएसँगै इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ। यसअघि समूह ‘ए’ बाट सुदूरपश्चिम समूह विजेता र एपीएफ उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेका थिए। यस्तै समूह ‘बी’ बाट प्रदेश १ सबै खेलमा जित निकाल्दै नकआउट चरणमा पुगेको थियो।

बुधबार अन्तिम चारमा स्थान बनाउने क्रममा मधेसले प्रस्तुत गरेको १ सय ८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर मात्र ९१ रन जोड्नसक्यो। लुम्बिनीका लागि रञ्जु श्रेष्ठ र मधु डीसीले अविजित समान २१ रनको पारी खेले पनि जितका लागि पर्याप्त भएन। यसअघि ओपनर लक्ष्मी चौधरीले १२ रन जोड्दै मध्यम सुरुवात गर्दा आस्मा पुलामीमगर र कप्तान सरस्वती जीएमले समान ११ रनको पारी खेलेका थिए। यसबाहेक सरस्वती पुनले १० रन जोड्दा सुस्मिता बजगाईं शून्यमा पवेलियन फर्किन्। लुम्बिनीको इनिङलाई रोक्ने क्रममा मधेसकी भूमि सिंहले दुई तथा कप्तान कविता गौतमले एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मधेसले पूरै २० ओभरमा पाँच विकेटको क्षतिमा १ सय ७ रन बनाएको थियो। मधेसका लागि साना प्रविनले ६४ बलमा पाँच चौका मद्दतमा सर्वाधिक ४६ तथा रोजी कडारीले १५ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकको स्कोर गर्न सकेनन्। लुम्बिनीका लागि मनिषा राना, सरस्वती पुन र बिवास्ना जीसीले समान एक विकेट लिए।

प्रतियोगितामा शुक्रबार सेमिफाइनल खेल हुनेछन्। दिनको पहिलो सेमिफाइनल खेल सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश तथा दोस्रो सेमिफाइनल खेल एपीएफ र प्रदेश १ बीच हुनेछ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर