दुर्घटना नदोहोरिने सुनिश्चिततासहित सरकारले काम गरोस् : कांग्रेस प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले छानबिन समितिको निष्कर्षलाई आम सर्वसाधारणको पहुँचबाट टाढै राख्ने परिस्थितिको अन्त्य हुनुपर्ने बताएका छन्।

उनले आइतबार काठमाडौंबाट पोखराका लागि उडेको विमान दुर्घटना भएकोप्रति दुःख व्यक्त गर्दै यस्ता घटनाहरू पटकपटक दोहोरिरहेको भन्दै जाँचबुझका लागि गठन गरेको समितिले बुझाएको प्रतिवेदनको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिएका हुन्। उनले समितिले बुझाएका प्रतिवेदनहरूको सही कार्यान्वयन हुन नसक्दा यस्ता घटनाहरूको पुनरावृत्ति भइरहेको बताए।

प्रवक्ता महतले अहिलेसम्म भएका विमान दुर्घटनाहरू किन भए भन्ने जाँचबुझ समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न आवश्यक रहेको बताए। उनले जाँचबुझ समितिले बुझाएको प्रतिवेदनका आधारमा दुर्घटना दोहोरिन नदिन यथेष्ट उपाय खोज्नुपर्ने बताए।

उनले जाँचबुझ समितिले बुझाएको प्रतिवेदनको कार्यान्वयन गरेर अघि नबढ्ने हो भने अन्तर्राष्ट्रिय जगतमा नै नेपाल हवाई यातायातको क्षेत्रमा अत्यन्त जोखिमयुक्त देश बन्ने सन्देश प्रवाह हुने बताए। प्रवक्ता महतले दुर्घटनाको विषयलाई गम्भीरताका साथ लिएर नदोहोरिने सुनिश्चितता मुखले नभई कामबाट नै गर्ने कुरामा सरकार र सम्बन्धित निकाय लाग्नुपर्ने बताए।

आइतबार काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिव ११ बजेको आसपासमा पोेखरा विमानस्थलबाट २ किलोमिटरको नजिकमा सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा परी जहाजमा सवार सबैको निधन भएको छ। अझै केही शव भने खोज्ने क्रम जारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर