संकटमा परम्परागत ढुंगाखानी

बागलुङको जैमिनी नगरपालिका रांखानीका स्थानीय गम्भीर विश्वकर्माको उमेर ५५ नाघ्यो। पन्ध्र वर्षको उमेरदेखि स्थानीय ढुंगाखानीमा काम गर्दै आएका उनले ढुंगाखानीमा काम गरेको ज्यालाबाटै परिवार पाल्दै आएका छन्।

जैमिनी नगरपालिका–७ जैदीस्थित हर्दिया ढुंगाखानी स्थानीय सरस्वती निम्न माध्यामिक विद्यालयको जग्गामा छ। परम्परागत रूपमा घर छाउनका लागि प्रयोग गरिने ढुंगाको पछिल्लो समय व्यापार घटेपछि ढुंगाखानीमा काम गर्दै आएका गम्भीरसहित नौ जनाको पेसा संकटमा परेको हो। पहिला १५ देखि २० मजदुरले काम गर्ने ढुंगाखानीमा कोरोना महामारीपछि घटेर नौ जनामा सीमित भएका छन्।

‘पन्ध्र वर्षको उमेरदेखि ढुङ्गाखानीमा काम गर्न थालेको हुँ। त्यसबेला ११ रुपैयाँमा एक हात बिक्री हुने ढुंगा अहिले १३५ रुपैयाँमा बिक्री भइरहेको छ। परिवारको लालनपालन र छोराछोरीको शिक्षादीक्षा यही ढुंगाखानीबाट गरियो,’ विश्वकर्माले भने, ‘अहिले ढुंगासमेत त्यति राम्रो निस्किँदैन। निस्केका ढुंगा पनि बिक्री गर्न समस्या छ। अहिले जताततै जस्ताले छाएका र आरसीसी घर निर्माण हुन थालेपछि ढुंगाखानी संकटमा परेको छ।’

हाते औजारको सहायताले ढुंगा निकाल्दै आएका मजदुरले पछिल्लो समय दिनभरि काम गर्दासमेत हातमुख जोर्न समस्या हुन थालेको बताएका छन्। ‘सुरुबाटै यही काम गरियो। अरू काम गर्न सिकिएन। अहिले ढुंगा निस्कन मुस्किल छ। खानीभित्रभित्रै पसेको छ भने व्यापार घटेर गएको छ। निकालेको ढुंगा कहिले बिक्री हुन्छ थाहै हुन्न,’ अर्का ढुंगाखानीमा काम गर्दै आएका मजदुर हिमबहादुर श्रीसले भने।

‘अन्य स्थानमा आधुनिक औजारको प्रयोगबाट ढुंगा निकाल्दा छाप्ने, आधुनिक घरमा टास्ने गर्दा राम्रै बजार पाएका सुनेका छौं। यहाँ त्यस्तो छैन। हातले मिलाएको ढुंगा घर छाउनबाहेक अन्त काम लाग्दैन। घर अहिले जस्ताले छाउन थाले, आरसीसी भवन बनाउन थाले। अब ढुंगाखानीमा काम गरेर पेट पाल्न सकस छ,’ उनले भने।

पहिला यही ढुंगाखानीबाट परिवार लालनपालन र शिक्षादीक्षा गर्दै आएका मजदुर ढुंगाखानीको व्यापार घटेपछि विस्थापित हुने क्रम जारी छ।

ढुंगाखानीमा काम गर्ने बूढापाका बितेर गए भने युवा विदेश पलायन हुँदा ढुंगाखानी सञ्चालनमा ल्याउनै समस्या भएको स्थानीय ढुंगा व्यापारी मनिकर्ण क्षेत्रीले दुखेसो गरे। क्षेत्रीले ४५ वर्षदेखि मजदुरले निकालेको ढुंगा विभिन्न स्थानमा पुर्‍याएर बिक्री गर्ने काम गर्थे। तर, अहिले घर छाउने ढुंगाको महत्त्व घट्दै गएपछि यहाँको ढुंगाखानी समस्यमा परेको उनको भनाइ छ। उनले आधुनिक ढुंगाको चलन कायमै रहे पनि हाते औजारको प्रयोगबाट निस्किएका ढुंगा घर छाउनमात्रै काम लाग्ने भएकाले समस्या भएको बताए।

‘पहिला ढुंगा पुर्‍याउनै मुस्किल हुन्थ्यो। यहाँको घर छाउने ढुंगा जैमिनी, बरेङ, गुल्मीलगायतका स्थानसम्म पुग्दथ्यो। अहिले ढुंगाले घर कमै मात्र छाउन थाले। जस्तापाता र ढलान गरेर घर बनाउँदा ढुंगा बिक्री हुनै छाड्यो,’ क्षेत्रीले भने, ‘ ढुंगाखानीमा आधुनिक प्रविधिको प्रयोग गरेर छाप्ने र पक्की घरमा टाँस्ने ढुंगा निकाल्दा राम्रो बजार हुन्थ्यो होला, ढुंगाखानी भिरालो जग्गामा छ, विद्युत् पुर्‍याउन समस्या छ।’

परम्परागत तरिकाले सञ्चालनमा आएको ढुंगाखानी दर्ता भएर सञ्चालनमा आउन नसक्दा राज्यबाट पाउने सेवा सुविधाबाट बञ्चित हुनुपरेको ढुंगाखानीमा काम गर्ने मजदुरले बताएका छन्। उनीहरूले ढुंगा निकालेबापतको केही रकम ढुांखानीको जग्गा भएको स्थानीय विद्यालय सरस्वती आधारभूत विद्यालयमा जम्मा गर्ने गरेका छन्। अहिले ताराखोलाको ढुंगा प्रांगण, सडक तथा पदमार्गमा छाप्ने तथा घरको भित्तामा टास्ने कार्यका लागि होटल, मन्दिर तथा घरधनीबाट अत्यधिक माग आउने गरेको छ। -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *