लुम्बिनी केबलकार फागुनदेखि सञ्चालनमा आउने

रूपन्देही जिल्लाको बुटवलदेखि पाल्पा जिल्लाको वसन्तपुरसम्म निर्माणाधीन लुम्बिनी केबलकार आगामी फागुनदेखि सञ्चालनमा आउने भएको छ।

शुक्रबार काठमाडौंमा आयोजित कम्पनीको १९औं वार्षिक साधारण सभामा सञ्चालक समितिको प्रतिवेदन पेस गर्दै लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार टावरहरूको सिभिल निर्माण कार्य लगभग सम्पन्न भइसकेको र आगामी फागुनदेखि सञ्चालनमा आउने बताएका हुन्।

‘केबलकार टावरहरूको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ। टप स्टेशनमा मन्दिर एरियाको सिभिल निर्माण कार्य पनि द्रुत गतिमा अगाडि बढिरहेको कुरा जानकारी गराउन चाहन्छु,’ ढकालले भने।

उनले केबलकारको सम्पूर्ण गोण्डोलालगायतका उपकरणहरूको विदेशबाट आयात गर्ने कार्य सम्पन्न भई ९ वटा टावरमध्ये ७ वटा टावरको जडान कार्य सम्पन्न भइसकेको र बाँकी २ वटा टावरको जडान कार्य पनि अन्तिम चरणमा पुगेको बताए।

त्यस्तै टप स्टेशनमा केबलकार उपकरणहरूको जडान कार्य सम्पन्न भइसकेको र बटम स्टेशनमा जडान कार्य भइरहेको उनले बताए।

साथै उनले सम्पूर्ण इलेक्ट्रोमेकानिकल कार्यहरूको निर्माण तथा जडान गर्ने कार्य द्रुत गतिमा अगाडि बढिरहेको बताए।

यो केबलकार परियोजनाको निर्माण कार्य २०७८ साल पुस महिनामा सुरु भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर